विद्यार्थीहरूको बोल्ने भाषा र लेख्ने लिपिमा अनौठो समस्या

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित भानु माध्यमिक विद्यालय कञ्जमा अध्ययनरत केही विद्यार्थीहरूको बोल्ने भाषा र लेख्ने लिपिमा अनौठो समस्या देखा परेको छ । विगतमा नेपाली, अङ्ग्रेजी तथा मातृभाषा राम्ररी बोल्ने र लेख्ने गरेका करिब २० जना विद्यार्थीहरू पछिल्लो दश दिनयता नबुझिने भाषा (नेपाली बोल्न खोजे पनि मानौँ कुनै विदेशी नागरिकले जबरजस्ती नेपाली बोल्न खोजे जस्तो) बोल्ने र लेख्ने लिपि समेत कुनै पनि अक्षर नबुझिने गरी (मानौँ कुनै विदेशी लिपिमा लेखे जस्तो) लेख्ने अनौठो समस्या देखा परेको हो ।
उक्त विद्यालयमा ६ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूमा एकाएक उक्त समस्या देखिएकोले आफूहरू सबै अचम्मित र चिन्तित भएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेद प्रसाद उपाध्यायले जानकारी दिनुभयो । राना थारु र डगौरा थारु समुदायका विद्यार्थीहरूमा यस्तो समस्या क्रमिक रूपले दिन प्रतिदिन बढ्दै गइरहेको र ती सबै विगत चार पाँच वर्ष पहिलेदेखि इसाई धर्म मान्दै आएको समेत प्रधानाध्यापक उपाध्यायले जानकारी दिनुभयो ।

यही पुस १० गतेका दिन क्रिसमस डे को अवसरमा गाउँमा आयोजित कार्यक्रममा सहभागी भएपछि ती विद्यार्थीहरूमा एकाएक यस्तो समस्या देखा परेको बताइएको छ । त्यसपछि ती विद्यार्थीहरू विद्यालयमा समेत कहिलेकाहीँ मात्रै उपस्थित हुने र विद्यालय आइहाले पनि बिदा नहुँदै घर जाने गरेको विद्यालयले जनाएको छ ।
विद्यालय प्रशासनले उक्त समस्याबारे सोधपुछ गर्दा त्यस्ता विद्यार्थीहरू मध्ये अधिकांशले कुनै प्रतिक्रिया नदिएको र केही विद्यार्थीहरूले अनौठो व्यवहार देखाउँदै विद्यालय पढ्नु भन्दा चर्चमै ध्यान गर्न मन लाग्ने गरेको प्रतिक्रिया दिएको बताइएको छ ।
यही पुस २२ गतेदेखि विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै विद्यालयका प्रधानाध्यापक उपाध्यायले ती विद्यार्थीहरूको बोल्ने र लेख्ने शैलीमै एकाएक परिवर्तन आउँदा विद्यालय अप्ठ्यारोमा परेको उल्लेख गर्नुभयो । परीक्षामा ती विद्यार्थी समावेश भई देवनागरी लिपि वा अङ्ग्रेजीमा लेख्न नसक्ने हो भने विद्यार्थीहरूले लेखेको कसैले पनि नबुझ्ने हुँदा उक्त समस्याको गहिरो अध्ययन आवश्यक परेको उहाँको भनाइ छ ।









प्रतिक्रिया राख्नुहोस्