तपाईँ सुन्दै हुनुहुन्छः

बसाँइसराइले उजाडिएको गाउँमा रिसोर्ट सञ्चालन

तनहुँ । १७ बर्ष अघिदेखि उजाडिएको तपर गाउँमा फर्किएर व्यवसायी दीपेन्द्र पौडेलले रिसोर्ट सञ्चालनमा ल्याउनुभएको छ  । 

शहरोन्मुख हुँदा बँझिएको गाउँका जमिनलाई उपयोग गर्दै पौडेलले शुक्लागण्डकी नगरपालिका ३ तपर गाउँमा तपर गाउँ रिसोर्ट सञ्चालन ल्याउनुभएको हो ।  

तनहुँको दुलेगौँडा बजारमा अफसेट प्रेस सञ्चालन गर्दै आउनुभएका पौडेलले आफु जन्मिएको थलोलाई उजाडिएको देख्न नसकेर गाउँ फर्किएको बताउनुभयो । अब युवाहरू सहर केन्द्रित नभई गाउँ फर्किएर सम्भावनाको खोजी गर्न सक्नुपर्ने उहाँको बुझाई छ । 

उजाडिएको गाउँमा सम्भावना देखेर सञ्चालन गरेको रिसोर्टमा उहाँले करिब ५० लाख रुपैयाँ लगानी गरेको जानकारी दिनुभयो । पूर्वाधार थप्ने क्रममै रहेकाले लगानी अझै बढ्ने उहाँको भनाई छ ।

रिसोर्टको वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले उद्घाटन गर्नुभयो । उहाँले  पोखराबाट नजिक भएकाले रिसोर्टको भविष्य उज्ज्वल देखेको बताउनुभयो । रिसोर्टले स्थानीय गाउँमा भएको उत्पादनलाई उपयोग गर्नुपर्न उहाँको भनाई छ ।

‘रिसोर्टले गाउँघर फर्कने वातावरण सिर्जना गरेको छ । इच्छाशक्ति भएमा गाउँमै पनि केही गर्न सकिन्छ’ उहाँले भन्नुभयो । 

लोक गायक शङ्कर पन्तले वैदेशिक रोजगारीले गाउँ रित्तिएकै बेला फर्किएर गाउँमा रिसोर्ट सञ्चालन गर्नु प्रशंसनीय रहेको बताउनुभयो । 

रातमाटा टोल विकास संस्थाका अध्यक्ष गोकर्ण कुँवरले गाउँमा अब युवाहरू फर्कनुपर्ने बेला आएको बताउनुभयो ।

सहरको कोलाहल र धुवाँ धुलोबाट मुक्त हुँदै रिफ्रेस हुनका लागि आफूले सञ्चालन गरेको रिसोर्ट उपयुक्त रहेको उहाँको दाबी छ । दुलेगौँडा बजारबाट ६ किलोमिटर पर रिसोर्ट सञ्चालन गरिएको छ । 

दुलेगौँडा हर्कपुर मोटर मार्ग हुँदै टपर गाउँ पुगिन्छ । स्थानीय अर्ग्यानिक उत्पादनमा पाहुनाले स्वाद फेर्न पाउनु रिसोर्टको मुख्य विशेषता हो । सूर्योदय र सूर्यास्तको मस्त दृश्य पान रिसोर्टबाट गर्न सकिन्छ । 

तरेली परेको पहाडका थुम्का, हरियाली वनजंगल र गाउँले परिवेशले रिसोर्टमा आउने पाहुना मन लोभ्याउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button