कर्णालीमा द्रुतगतिको इन्टरनेट : माग अनुपातको सेवा पुर्याउनै सकस

सुर्खेत । नेपाल टेलिकमले ल्याएको उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने फाइबर टु दी होम (एफटीटीएच) सेवाको माग दिन प्रतिदिन बढ्दो छ ।
पर्याप्त बजेटसँगै दक्ष कर्मचारी तथा प्रक्रियागत समस्याले कर्णालीका उपभोक्ताको माग अनुपातमा सेवा पुर्याउन सकस भइरहेको टेलिकमले जनाएको छ ।
एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने भएकाले उपभोक्ता माझ यो सेवाको माग बढेको हो ।
सेलुलर मोबाइल फोनको लोकप्रियतासँगै ल्याण्डलाइन ग्राहकको सङ्ख्या घटिरहेका बेला पछिल्लो समय एफटीटीएच प्रविधिले पुनः उपभोक्तालाई ल्याण्डलाइन जडान गर्नतर्फ आकर्षित गरेको नेपाल टेलिकम सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार गत वर्ष जिल्लाभर ल्याण्डलाइन ग्राहकको सङ्ख्या ६ हजार ६०० रहेकोमा एफटीटीएच प्रविधि सञ्चालनमा आएसँगै चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ७ हजार ग्राहक पुगेका छन् ।
टेलिकम सुर्खेतको तथ्याङ्क अनुसार एफटीटीएचको प्रयोगकर्ता सदरमुकाम वीरेन्द्रनगरमा मात्र ४२०० छन् ।
थप विस्तारको काम भइरहेकाले अब चालू आर्थिक वर्षभित्र ८ हजार एफटीटीएच ग्राहक बनाउने लक्ष्य रहेको नेपाल टेलिकम सुर्खेत कार्यालयका प्रमुख वरिष्ठ इन्जिनियर सन्तोष शर्माले बताउनुभयो ।
सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ ।
उहाँका अनुसार सोही अनुरूप हाल टेलिकमको वेबसाइट तथा एसएमएसबाटै एफटीटीएच सेवाको जानकारी लिन सकिने सुविधा उपलब्ध छ ।
“कर्णाली प्रदेशको दैलेख जिल्लाभर एफटीटीएच सेवा विस्तार भइसकेको छ,” नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले भन्नुभयो, “छिट्टै सल्यानको सल्लीबजार, सुर्खेतको छिन्चुसँगै जाजरकोट, कालिकोट र जुम्लालगायतका जिल्लामा यो सेवा पुर्याउँदै छौँ ।”
टेलिकम सुर्खेतसँगै कर्णाली प्रदेशका अन्य जिल्लामा समेत एफटीटीएच सेवा विस्तार अभियानमा जुटेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यो प्रविधिमार्फत अप्टिकल फाइबर पुर्याएर ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट, आईपीटीबी र भिडियो सेवाहरू प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी बनेको छ ।

हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न माध्यमबाट महसुल बुझाउन वा रिचार्ज गर्न सकिने बताइएको छ ।
गुणस्तरीय सेवा पुर्याउन प्रयासरतटेलिकमले आफ्नो सेवा अझै गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयासरत रहेको निर्देशक मल्लिकले बताउनुभयो ।
कर्णालीमा टेलिकमको सेवा सुविधा थप व्यवस्थित गर्दै सर्वसुलभ बनाउने काममा कोरोना महामारीलगायत कारणले ढिलाइ भए पनि अब तीव्रता दिइने उहाँको भनाइ छ ।
टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको समेत निर्देशक मल्लिकले बताउनुभयो ।

यो अवधिमा तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रूपान्तरण गरिएको उहाँको भनाइ छ ।
“अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चारको क्षेत्र विस्तारमा निर्देशनालय जुटेको छ,” उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्