तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा लक्ष्मी पूजाको भव्य तयारी

बीरगंज । लक्ष्मी पूजाको अवसरमा आर्थिक नगरी वीरगंजमा लक्ष्मीको पूजा भव्य रुपमा गर्ने तयारी भइरहेको छ । 

वीरगंज बजारलाई व्यवसायीहरूले दुई दिनदेखि नै झिलिमिली बनाएका छन् भने वीरगंजको केन्द्र आदर्श नगरलाई दुलही झैँ सिँगारिएको छ । 

रोडको दुवैपट्टि विभिन्न थरीका बत्ती, फुल लगायत अन्य सामग्रीले सो क्षेत्रलाई सजाइएको हो । 

खास गरी दीपावली एक आपसमा शुभकामना आदान प्रदान गरी दीप प्रज्वलन गर्दै मनाइने पर्व भएकोले आम मानिसमा पनि उत्साह छाओस् भन्ने अभिप्रायले सो क्षेत्रलाई सजाइएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

लक्ष्मी पूजाको अवसरमा आज साँझ आदर्श नगरमा विभिन्न कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने र सेल्फी स्टेण्डको पनि व्यवस्था गरिएको खेतानले बताउनुभयो । 

साथै विभिन्न खाने परिकारका स्टल समेत रहेकोले गर्दा स्थानीयले कार्यक्रम अवलोकन गर्दै आफूलाई मन परेको परिकार समेत खान सक्ने छन् । 

यसैगरी,  विभिन्न कम्पनीले समेत आफ्ना सामग्रीको प्रचार प्रसार गर्न स्टल राखेका छन् । 

घर परिवारका सदस्यहरु, युवा युवतीहरू एकै थलोमा भेला भई रमाइलो वातावरणमा चाडपर्वको उत्साह महसुस गर्न सकुन् भन्ने उद्देश्यका साथ ग्रिन सिटीले यो पहल गर्दै आएको खेतानले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button