१० महिनाको शिशु अपहरण गरी बेपत्ता पारेको आरोपमा पक्राउ

जुम्ला । १० महिनाको शिशु अपहरण गरी बेपत्ता पारेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । गएको भदौ ३ गते राति हिमा ३ का १० महिनाको शिशु अपहरण गरी बेपत्ता पारेको आरोपमा सोही वडाका दानबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त स्वयमले शिशु अपहरण गरी बेपत्ता पारेको बयान दिएका छन् ।
२६ वर्षीय अभियुक्त रोकाय हिमा गाउँपालिका ३ जुम्ला च्यामा गाउँका हुन् । उहाँले सोही गाउँपालिकाको सोही वडास्थित मोफ्ला गाउँका १९ वर्षीय भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज) लाई भदौ ३ गते राति ९ः३० बजे अपहरण गरी बेपत्ता पारेको बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नविन थापाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक थापाले भन्नुभयो, “यही भदौ ३ गते आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ ९ः३० बजे पुगेका अभियुक्त रोकायले भदुरी तिमीलाई आमाले बोलाउँछन् भनी झुक्याएर उनकै आमा कहाँ उनी जाँदै गरेको मौका छोपी घरभित्र पसरे शिशु अपहरण गरी हालसम्म बेपत्ता पारेको खुलेको छ । जस अनुसार जुम्ला जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई हिरासत कक्षमा राखेर थप अनुसन्धानको कारबाही प्रक्रिया थालेका छौँ ।”
प्रहरीका अनुसार अभियुक्तले शिशुलाई कहाँ, किन र कसरी बेपत्ता पारे भन्ने विषयमा गम्भीरताका साथ अनुसन्धान भइरहेको छ । अपहरित शिशुको बाबु को हो रु भन्ने विषयमा भने प्रहरीले स्पष्ट पारेको छैन । अभियुक्त रोकायलाई कर्णाली प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतको समन्वयमा पक्राउ गरिएको जिप्रका जुम्लाले जनाएको छ








प्रतिक्रिया राख्नुहोस्