तपाईँ सुन्दै हुनुहुन्छः

सेवन गर्न अयोग्य भनी प्रमाणित भएपछि ७२ हजार किलो चिनी नष्ट

बारा । राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले ७२ हजार किलो चिनी नष्ट गरेको छ ।
व्यवसायीहरूको चर्को  दबाबमा १ वर्षदेखि पटक–पटक नमुना परीक्षण गरेर सेवनयोग्य बनाउने चलखेल गरिएको ७२ हजार केजी अखाद्य चिनी अन्ततः नष्ट गरेको हो । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथो पटक पठाएको नमुना परीक्षणको प्रतिवेदनमा पनि सेवन गर्न अयोग्य भनी प्रमाणित भएपछि नष्ट गरिएको हो । राजस्वले पठाएको नमुनाका आधारमा खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेको थियो ।
खाद्यको प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान विभागले चैत ६ गते  पथलैयालाई पत्र पठाएर सो चिनी नष्ट गर्न अनुमति दिएको हो । ७२ हजार केजी  चिनी १ वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएको थियो । २०७६ फागुन २५ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भनेको भारतीय चिनी मिलेमतोमा जलेश्वर भन्सारबाट नेपाल भित्रिएको थियो ।
चिनी लिलाम बिक्री प्रक्रिया अन्तर्गत राजस्वले फागुन १३ गते नमुना परीक्षणका लागि जनकपुर पठाएको हो । चौथो पटक गरिएको नमुना परीक्षणमा पनि सेवन गर्न अयोग्य प्रमाणित भएपछि सो चिनी राजस्वले सोमबार देखि नष्ट गर्ने कार्य सुुरु गरेको जनाएको छ । राजस्व अनुसन्धान पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टङ्क पाण्डेले सेवन गर्न अयोग्य प्रमाणित भएको चिनीलाई अदालतले आवश्यक व्यवस्थापन गर्नु भनेकोले चिनी नष्ट गर्न सुुरु गरिएको बताउँनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button