तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाका बन्द हुँदा होटल तथा पर्यटन व्यवसाय सङ्कटमा परेको गुनासो

बीरगंज । कोरोना भाइरसको महामारीका कारण झण्डै ९ महिनादेखि सीमा नाका बन्द हुँदा यसको असर होटल तथा पर्यटन व्यवसायमा परेको छ ।

वीरगंज तथा चितवनका होटल व्यवसायीहरूले भारतीय पर्यटक नआउँदा बीरगंजसँगै सौराहाको समेत होटल व्यवसाय धरापमा परेको भन्दै बन्द गरिएको सीमा नाका तत्काल खोल्न माग गरेका छन् ।

घुमौँ सौराहा बिटुबी कार्यक्रम अन्र्तगत बीरगंजमा आयोजित अन्तरक्रिया कार्यक्रममा दुवै जिल्लाका व्यवसायीले सरकारलाई सीमा नाका खोल्न दबाब दिन संयुक्त रुपमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा भएको कार्यक्रममा सहभागी होटल तथा पर्यटन व्यवसायीहरूले नाका बन्द भएकै कारण बीरगंज, सौराहालगायत देशका होटल तथा पर्यटन क्षेत्र धराशायी बनेको गुनासो गरेका छन् ।

लकडाउनको कारण धराशायी बनेको व्यवसायलाई चलायमान बनाउन सरकारले यथाशीघ्र सीमा नाका खोल्नु पर्ने माग होटल तथा पर्यटन व्यवसायीहरूले गरेका छन् ।

देशको ७० प्रतिशत बढी पर्यटन व्यवसाय धान्ने भारतीय पर्यटक सीमा नाका बन्द भएकै कारण नेपालमा आउन नसकेको र यसले पर्यटन तथा होटल व्यवसायमा ठुलो असर परेको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो ।

आन्तरिक पर्यटक प्रवर्द्धन गर्न चितवन सौराहाबाट पहिलो चरणको ‘घुमौँ सौराहा’ अभियानको समापन गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा बीरगंज महानगरपालिका नगर प्रमुख विजय सरावगीले मुलुकमा उत्पन्न अस्थिरताले व्यापार व्यवसाय चौपट बनेको हुँदा व्यवसायीलाई राहत दिने गरी सहज वातावरण निर्माण गर्ने जिम्मा सरकारको भएको बताउनुभयो ।

कार्यक्रममा चितवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले समृद्धिका लागि सहज वातावरण हुनु पर्ने बताउँदै अबको दिन कोरोनाको त्रासले हटेर होइन डटेर लड्नु पर्ने बेला आएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, होटल एसोसिएसन पर्साका अध्यक्ष हरी पन्त, सुमन घिमिरे, दीपेन्द्र खतिवडा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सौराहामा पर्यटन प्रवर्द्धनका लागि चितवनबाट हिँडेको होटल तथा पर्यटन व्यवसायीहरूको टोलीले पूर्वी नेपालको धरान, विराटनगर, जनकपुर हुँदै बीरगंजमा आएर कार्यक्रम समापन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button