तपाईँ सुन्दै हुनुहुन्छः

कुखुरा पालन व्यवसायबाट लोभलाग्दो आम्दानी 

जाजरकोट । गाउँघरमा रोजगारीको कुनै पनि अवर नपाएर दैनिक जसो युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलाइन भइरहेका छन् । रोजगारीको खोजीमा युवाहरू खाडी मुलुक धाइरहेका बेला जाजरकोटमा भने एक युवाले गाउँमै रोजगारी सिर्जना गरेर लोभलाग्दो आम्दानी गर्न सफल हुनु भएको छ ।
नलगाड नगरपालिका ३, टट्टाका दानीलाल पुनले कुखुरा पालन व्यवसाय गरेर लोभलाग्दो आम्दानी गर्न सफल हुनु भएको छ । यस व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि यस पेसाप्रति पुनको आकर्षण बढेको हो । तीन बर्ष अघि १ सय ९० वटा कुखुरा पालन गरेर व्यवसाय थाल्नु भएका पुनले अहिले १ हजार २ सय ५० वटा कुखुरा पालन गर्नु भएको छ ।
चितवनबाट हाइलाइन जातको लेस कुखुरा ल्याएर व्यवसाय थाल्नु भएका पुनले अण्डा विक्रीबाट मासिक ४५ हजार आम्दानी गर्दै आउनु भएको छ । बजारमा अण्डाको माग धेरै रहेको र एक क्यारेड अण्डा चार सय देखि पाँच सय रुपैंयामा विक्री हुने गरेको उहाँले बताउनु भयो ।
भेरी नगरपालिका ३ स्यालामा निजी लगानीमा एकता पोल्टी फर्म सञ्चालनमा छ । सुरुमा ३ लाख लागतमा व्यवसाय थालेको र अहिले २० लाख लागतमा व्यवसाय सञ्चालन भइरहेको उहाँले बताउनु भयो । यसबाट राम्रो आम्दानी भई रहेको छ, बिदेशमा गएर अर्काको काम गर्नु भन्दा आफ्नै गाउँघरमा रोजगारी गरेर मनग्य आम्दानी लिन सकिने उहाँको सुझाव छ ।
यस व्यवसायबाट घर व्यवहार चलाउन र छोराकारीलाई पढाउन सजिलो भएको पुनको श्रीमती विमाले बताउनु भयो । अन्य पेसा भन्दा कुखुरा पालन व्यवसाय सहज भएको र आम्दानी राम्रो भएको उहाँको भनाइ छ ।
कुशे लघु घरेलु सहकारी संस्था लिमिटेड जाजरकोटकी अध्यक्ष शीला बिश्वकर्माले गाउँघरमै रोजगारीका प्रशस्तै सम्भावनाहरू भएको बताउँदै वास्तविक व्यवसाय गर्नेहरूले सरकारी अनुदान पाउन नसकेको र यसका लागि सरकारी अनुदान व्यवस्था गरेर बेरोजगार युवाहरूलाई रोजगारी सिर्जना गर्नु पर्ने उहाँको भनाइ छ । गाउँघरमा रोजगारीका धेरै राम्रा सम्भावना भएर पनि कमैले मात्र रोजगारी गरेको पाइन्छ । मेहनत गरे गाउँघरमै सुन फलाउन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button