खुले जाजरकोटका विद्यालय

जाजरकोट । जाजरकोटका जिल्लाका चार सय ४२ विद्यालय नौ महिना पछि खुलेका छन् । कोरोना कहरले लामो समयदेखि विद्यालय बन्द भएपछि सयौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । अहिले धमाधम विद्यालय खुलेपछि विद्यार्थीहरू खुसीले गदगद् छन् ।
सङ्क्रमणको जोखिमकै बीच विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेको हो । विद्यालय सञ्चालन कार्य ढाँचा बनाएर विद्यालयले पठनपाठन सन्चालन गरिरहेका छन् । मङ्सिर ७ गतेबाट यहाँका विद्यालयले पठनपाठन सञ्चालन गरेका हुन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयले पठनपाठन सञ्चालन गरेको विद्यालय शिक्षकको भनाइ छ । कोरोना भाइरसका कारण लामो समयसम्म भएको बन्दाबन्दी लकडाउनले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै विद्यालय खुलेपछि विद्यार्थीहरूको पठनपाठनमा सहजता आएको निर्मल ज्योती आधारभूत विद्यालय नलगाड ६, थाप्लाका प्रधानाध्यापक भीमबहादुर वलीले बताउनु भएको छ ।
लामो समय पछि विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरू भने निकै खुसी देखिएका छन् । पठनपाठन क्रियाकलाप सञ्चालनमा आएपछि विद्यार्थीहरू नियमित रुपमा विद्यालय आउने गरेका छन् । अभिभावकहरूले आफ्ना बालबालिकालाई मास्क, स्यानिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्नु पर्ने बारेकोट ८ लैखमका अभिभावक हरीबहादुर खत्रीले बताले बताउनु भयो ।
जाजरकोटका ७ वटै स्थानीय तहका विद्यालय एकसाथ खुलेका हुन् । सरकारले कोभिड –१९ को प्रभाव नभएको ठाउँमा विद्यालय खोल्न सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएपछि जिल्लाभरिका सबै विद्यालयमा पठनपाठन सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्राविधिक सहायक दलबीर पुनले बताउनु भयो । जिल्ला भर सामाजिक दुरी कायम गरेर पठनपाठन गर्न ७ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूलाई निर्देशन दिइएको पुनको भनाइ छ । जाजरकोटमा करोनाको कुनै पनि जोखिम नरहेको पछि उहाँको भनाइ छ । 

जिल्लाका चार सय १२ सामुदायिक र ३० वटा संस्थागत विद्यालयमा ७० हजार विद्यार्थी पठनपाठन गर्दै आएका छन् । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालयले पठनपाठनमा जोड दिनु आवश्यक देखिन्छ । सरकारले सिकाई निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्न बाटो खुलेको हो ।







प्रतिक्रिया राख्नुहोस्