तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको भैरवनाथ मन्दिरमा दर्शनार्थी घुईचो बढ्यो

पाल्पा-पाल्पाको रिब्दीकोट गाउँपालिका ४ मा रहेको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेको प्रसिद्ध भैरवनाथ मन्दिरमा आउने दर्शनार्थी तथा पर्यटकको संख्या बढ्दो छ ।

कोरोना महामरीका कारण केही महिना नित्य पुजा मात्र गरि बन्द रहेको भैरवनाथ मन्दिरमा पछिल्लो समय स्वास्थ्य मापडण्ड पालना गर्दै दर्शन गर्ने ब्यबस्था गरिए संगै दर्शनार्थीको घुईचो बढेको हो ।

सदरमुकाम तानसेन देखि झन्डै नौ किलोमिटर पश्चिममा अवस्थित यस मन्दिरमा नेपालका विभिन्न जिल्लाका दर्शनार्थीसँगै छिमेकी देश भारतको विभिन्न प्रदेशहरुबाट समेत भक्तजनहरु आउनेक्रम बढेको हो । पाल्पाका तत्कालीन सेन वंशीय राजा मणिमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए ।

एशियाको सबैभन्दा ठूलो त्रिशूल रहेकाले पनि पर्यटकको आकर्षण बढेको हो । पौराणिक मान्यताअनुसार पाल्पा गौँडाका प्रमुख राजा खड्क शमशेरले आफ्नी रानीको इच्छाअनुसार मन्दिरमा त्रिशूल चढाएका थिए । त्रिशूलमा सुनको लेपन लगाइएको हुँदा जतिबेला पनि नयाँ र ताजा जस्तै देखिन्छ ।

त्यस्तै मन्दिरको अर्को विशेषता भाकलस्वरुप ल्याइएका पशुको बलि दिँदा खुकुरी, खुर्पा र दाउलाई अहिलेसम्म धार नलगाइकन एकै पटकमा सजिलैसँग काटिने गरेको यहाँका स्थानीय बताउँछन् ।

दसैँको नवरात्र, वैशाख र मङ्सिरमा बढी भीड लाग्ने गरेतापनि पछिल्लो समय बाह्रै महिना मन्दिरमा पूजाआजा र अवलोकनका निम्ति पर्यटकको सङ्ख्या बढ्दो छ । यहाँबाट विभिन्न हिमशृङ्खलाको पनि दृश्य अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण ह्वात्तै बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button