वीरगञ्जको नेपाल इण्डो अस्पतालमा प्रशासनको छापा
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले आज वीरगञ्जको रजत जयन्तीचोकमा रहेको नेपाल इन्डो हस्पिटल प्रालिमा छापामारी कागजपत्र नियन्त्रणमा लिएको छ ।
अस्पताल दर्ता नै नगरी अवैध रुपमा संचालनमा रहेको तथा राजस्व छलि गरेको सम्बन्धी उजूरी परेको र सोको आधारमा जिल्ला प्रशासन कार्यालय पर्सा, स्वास्थ्य कार्यालय, उपभोक्ता मञ्च पर्साबाट खटिएको संयुक्त टोलीले अस्पतालमा रहेका कागजात नियन्त्रणमा लिएको हो ।
अस्पतालमा अहिले बिरामी रहेको हुँदा बन्द गर्ने अवस्था नरहेको भए पनि कर छलि र अवैध रुपमा दर्ता नभई संचालन भएको पुष्टि भएमा कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।
अस्पताल अनुगमनको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नरहेको र सञ्चालक पनि नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हिमकान्त पौडेलले जानकारी दिनुभयो । अस्पताल प्यान, भ्याटमा दर्ता नभएको र बिरामीहरुको उपचारमा प्रयोग हुने कागजातहरु हस्तलिखित हुने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
अस्पतालमा योग्यता नपुगेका नक्कली ल्याब टेक्निसियन, काम गर्ने स्वास्थ्यकर्मीको प्रमाणपत्र समेत नरहेको र उनीहरुलाई नियुक्तिपत्र समेत नदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अस्पतालमा त्रुटि भेटिएकोले कारबाई प्रक्रिया अगाडि बढाएको र राजस्व चोरी गरेको आरोपमा आन्तरिक राजस्व कार्यालयलाई बिल भर्पाई बुझाइने जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्