कोरोना सङ्क्रमणबाट बाँकेमा ७२ घण्टामा ६ जनाको मृत्यु

बाँके । बाँकेमा पछिल्लो ७२ घण्टामा ६ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमण भई उपचारका क्रममा यी व्यक्तिको ज्यान गएको हो ।
यसरी मृत्यु हुनेमा बाँके, बर्दियासहित सुर्खेत र दाङका कोरोना सङ्क्रमित रहेका छन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत यी कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको हो ।
केन्द्रका अनुसार पछिल्लो ७२ घण्टामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने मध्ये सबैभन्दा बढी दाङका रहेका छन् । दाङका विभिन्न स्थानीय तहका गरी चार जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, दाङ निवासी ८१ वर्षीय वृद्धको बिहीबार राती १०ः ४५ बजे उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मङ्सिर १३ गते भर्ना भएका ती ८१ वर्षीय बृद्धाको उपचारका लागि रेमडिसिभर र प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको केन्द्रले जनाएको छ ।
यस्तै, बिहीबार राती ८ः १८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११, दाङका ४५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ ।
मङ्सिर ४ गते भर्ना भएका ४५ वर्षीय पुरुष उपचारका लागि रेमडिसिभर लगायत आवश्यक सम्पूर्ण उपचार पद्धति अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको थियो ।
केन्द्रका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१६, दाङ, निवासी २६ वर्षीय पुरुषका शुक्रवार राती १२ः१० बजे उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । मङ्सिर १० गते भर्ना भएका ती २६ वर्षीय पुरुषलाई रेमडिसिभर र प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको हो ।
यसै गरी बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलेसनमा उपचाररत बाँकेका र सुर्खेतका १ ÷१ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर –२ का ७४ वर्षीय वृद्धको बिहीबार राती २ बजे मृत्यु भएको हो । भने सुर्खेत भेरी गङ्गा नगरपालिका–९ का ७० वर्षीय वृद्धको बिहीबार बिहान १०ः५६ बजे मृत्यु भएको थियो ।
केन्द्रका अनुसार मङ्सिर ६ गते अस्पताल भर्ना भएका कोहलपुरका ती वृद्धमा कोरोना संक्रमण देखिएसगैं रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदासमेत उनको स्वास्थ्यमा सुधार नआएपछि बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो । बर्दिया गेरुवा गाउँपालिका वडा नम्बर ५ का ६० वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीबार बिहान ७ः२० बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आई कोहलपुर मेडिकल कलेजमा भनाए भएकी ती महिलाको स्वाब सङ्कलन गरी जाँच्दा १८ गते पोजेटिभ रिर्पोट आएको थियो । योसगैं बर्दियामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । यस्तै मङ्सिर ८ गते अस्पताल भर्ना भएका सुर्खेत भेरी गङ्गा नगरपालिका–९ का ७० वर्षीय वृद्धको रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार नदेखिएपछि बिहीबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ ।
यसअघि दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ का ५६ वर्षीय पुरुषको बुधवार बिहान ४ः५० बजे उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो ।
केन्द्रका अनुसार अहिले सम्म बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । भने बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका मृतक संंख्या ५७ पुगेको छ ।







प्रतिक्रिया राख्नुहोस्