धनी र गरिब सबैले कोरोनाको खोप पाउनुपर्नेमा विश्व समुदायलाई प्रम ओलीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोपको आविष्कारले नयाँ उत्साह जगाएकोले धनी र गरिब सबैले खोप पाउनुपर्नेमा जोड दिनुभएको छ ।
कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसङ्घको विशेष महासभालाई सम्बोधन गर्दै विश्व मानवजातिलाई परेको सङ्कटको बेला खोपलाई नाफाको माध्यम बनाउन नहुँने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खोपलाई सबैले खरिद गर्न सक्ने गरी सर्वसुलभ बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले विश्वका आम जनताहरूलाई खोपको पहुँच पुर्याउन कोभ्याक्सले गरेको प्रतिवद्घताप्रति नेपालले उच्च सम्मान गरेको पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण विश्वमा प्रकृतिसँग मानिसको सम्बन्ध र विश्वका राष्ट्रहरुबीच रहेको असमानता उजागर गरिदिएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले कोरोनाको प्रकोपबाट कोही पनि अछुतो नरहेको बताउँदै महामारीका कारण विश्व एउटा सानो ढुङ्गा रहेको र हामी सबै त्यसमा सवार रहेको देखिएको बताउनुभयो ।
सबै देश जस्तै नेपाल पनि कोरोना भाइरस विरुद्ध लडिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले कोरोना संक्रमण नियन्त्रण गर्न सबै राजनीतिक, आर्थिक, मानवीय तथा प्राविधिक साधनहरू प्रयोग गरिरहेको प्रष्ट पार्नुभयो ।
महामारी नियन्त्रणका लागि सरकार स्वास्थ्य सेवाको सुदुढिकण, जनताको जीवन रक्षा तथा दिगो स्वास्थ्य जस्ता रणनीतिका साथ अगाडि बढेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारका तीनै तहमा चाहिने भौतिक पूर्वाधार, मानवीय र आर्थिक स्रोतहरूको पहुँच बढाउन केन्द्रित भइरहेको बताउनुभयो । उहाँले, सरकारले विपन्न तथा गरिब बिरामीहरूको निःशुल्क उपचार गरिरहेको समेत प्रष्ट्याउनुभयो ।
सरकारले महामारी नियन्त्रणका लागि देशभरीमा ६८ पिसिआर प्रयोगशाला निर्माण तथा विस्तार गर्नुका साथै ९० भन्दा बढी कोभिड विशेष अस्पताल र ९ सय ५३ स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गरेको बताउनुभयो ।
महासभाको विशेष सभालाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले महामारीको समयमा विश्व स्वास्थ्य सङ्गठनले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विश्वमा रहेको गरिबी, भोकमरी, बढ्दो असमानता, विश्वव्यापी मौसम परिवर्तन जस्ता समस्याहरूलाई हल गर्न नयाँ ऊर्जाशील बहुपक्षीय र विश्वव्यापी प्रतिकार आवश्यक रहेको औँल्याउनुभयो ।
प्रधानमन्त्री ओलीले यी विषयमा महामारीको निहुँमा अन्तर्राष्ट्रिय ऐक्यवद्घता र प्रतिवद्घताबाट कोही पनि पञ्छिन नमिल्ने बताउनुभयो ।
कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशन’मा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधन :
विशेष अधिवेशनका अध्यक्ष महोदय,
संयुक्त राष्ट्र संघका महासचिवज्यू,
महामहिमज्यूहरु तथा विशिष्ट महानुभावहरु !
कोभिड–१९ महामारी सम्बन्धी विशेष महाअधिवेशन आयोजना गर्नु भएकोमा अध्यक्षज्यूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । अभूतपूर्व गति र व्यापकताका साथ फैलिरहेको महामारीले जो कसैलाई जुनसुकै स्थानमा रहे पनि प्रभावित तुल्याएको छ ।
१३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको र प्राय सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको छ ।
विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन । यो त राष्ट्रहरुबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिंदै गएको असमानता एवम् मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यता विरुद्ध जागरुक हुन बजेको घण्टी हो । हो, हामी सबै एउटै प्रकोपको भूमरीमा छौं । हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौं, तर यस्तो होइन । हामी सबैजना खतरामा छौं । महामारीले हामीलार्इ एउटा अमूल्य शिक्षा प्रदान गरेको छ ।यो संसार एउटा सानो जहाज हो र हामी सबैजना यसका यात्री । हामीलाई मन परोस वा नपरोस, हामी एउटै भाग्यका हिस्सेदार हौं ।
अध्यक्ष महोदय,
अन्य मुलुकहरु जस्तै नेपाल पनि यो स्तरको संकटको लागि तयार थिएन ।तथापि, भाइरसको नियन्त्रणका लागि हामीले उपलब्ध सबै राजनैतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतहरुको परिचालन गरेका छौं ।
हामी मुख्यत तीनवटा उद्देश्यहरुबाट मार्गनिर्देशित भएका छौं: स्वास्थ्य स्याहार प्रणालीको सुदृढीकरण; जनताको जीवनको रक्षा; एवम् दिगो तथा उत्थानशील पुर्नस्थापना ।
आवश्यक परेकालाई निशुल्क परीक्षण एवम् उपचार सेवाहरु प्रदान गरिएको छ । संघीय, प्रान्तीय तथा स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत एवम् चिकित्सकीय उपकरणहरु सुनिश्चित गरिएको छ ।
शुन्यप्रायः अवस्थाबाट शुरु गरेर हामीले मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेका छौं । ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको छ । सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं ।
हामीले कोभिड–१९ सम्बन्धी कूल ४८ वटा संहिता तथा निर्देशिकाहरु तयार गरेका छौं । स्वास्थ्य मापदण्ड, सुरक्षा र निर्मलीकरण सम्बन्धमा सामाजिक संघसंस्था, व्यक्तिविशेष, आमसंचार जगत तथा सामाजिक सञ्जाल मार्फत भएका जनचेतना अभिबृद्धिका कार्यक्रम एवम् स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक सूचना संप्रेषण विशेषतः उपयोगी रहेका छन् ।
अध्यक्ष महोदय,
संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्र संघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गर्दछ ।चुनौतीहरुको सामना गर्दै गर्दा हामीलाई विद्यमान संकट निवारण गर्नका लागि एउटा दरिलो विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको छ ।
सर्वप्रथम र प्रमूखरुपमा, हामीले बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्दछ । हामीलाई गरीबी, भोकमरी तथा बढ्दो असमानता लगायत जलवायु संकट तथा विश्वव्यापी महामारीजस्ता हाम्रा समयका गम्भीर चुनौतिहरु सामना गर्नसक्ने पुर्नसवलीकृत बहुपक्षीयताको आवश्यकता छ ।
यसका लागि हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनौट गर्नुपर्दछ, एकल कार्य होइन । दोस्रो, महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाको रुपमा प्रयोग गरिनु हुँदैन । विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत सहयोगको खाँचो रहेको छ ।
तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ । धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको हामी सराहना गर्दछौं । खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन ।
सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ । खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।
अन्त्यमा, उचित पुर्नस्थापना र असल पुर्ननिर्माणका योजना बनाउदै गर्दा हाम्रा प्रयासहरु एजेन्डा २०३० तथा पेरिस सम्झौता अनुकूल हुनुपर्दछ । हामीले स्वास्थ्य र सामाजिक सुरक्षा प्रणाली; पूर्वाधार र रोजगारी सिर्जनामा लगानी गर्नुपर्दछ ।
यस सन्दर्भमा भएका राष्ट्रिय प्रयत्नहरु अन्तरराष्ट्रिय सहयोगका परिपूरकका रुपमा रहनुपर्दछ ।वर्तमान संकटले जीवनको रक्षा तथा समाजको सुरक्षाका लागि विश्वव्यापी एकता र उचित प्रतिबद्धताको माग गर्दछ । मानव सभ्यताले सधै विनाशकारी चुनौतिहरु सामना गरेको र सफलतापूर्वक पुनरागमन गरेको छ ।
हामी लडखडाउनु हुँदैन । एउटै समुदाय, एउटै सभ्यता र एउटै विश्वका रुपमा हामीले तुरुन्तै कार्य गर्नुपर्दछ । कसैलाई पनि पछि नछोडीकन हामी पहिलेभन्दा उत्तम परिस्थितिमा फर्कनुपर्छ ।
धन्यवाद ।
३ डिसेम्बर २०२०, न्यूयाेर्क, अमेरिका







प्रतिक्रिया राख्नुहोस्