तपाईँ सुन्दै हुनुहुन्छः

अरिंगालको टोकाईबाट एक जनाको मृत्यु

अछाम । अछामका एक जनाको अरिंगालको टोकाईबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका ४८ बर्षका गोकर्ण रावलको उपचारको क्रममा ज्यान गएको हो ।

मंसिर २ गते राति अरिंगालको टोकाईबाट गम्भीर घाईते रावलको काठमाण्डौँको ग्रान्डी अस्पतालमा उपचारको क्रममा ज्यान गएको वडा नम्बर ५ का अध्यक्ष लाल कामीले जानकारी दिनुभयो ।

स्थानीय फालासैन खेल मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिने भए पछि खेदमैदान नजिकै रहेको पिपलको रुखमा रहेको अरिंगालको गोल हटाउने क्रममा उहाँलाई अरिंगालले टोकेको थियो ।

प्रतियोगिता सञ्चालन गर्दा खेलाडी तथा अन्यलाई अरिंगालले टोक्न सक्ने र प्रतियोगिता प्रभावित हुने सक्ने भन्दै अरिंगालको गोल हटाउन स्थानीयले गरेको प्रयासमा सघाउने क्रममा रावललाई अरिंगालले टोकेको थियो ।

अरिंगालले टोकेपछि तत्काल जिल्लाको बयालपाटा अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएकोमा त्यहाँबाट भेन्टिलेटर सहितको हेलिकप्टरबाट काठमाण्डौँ लगिएको थियो । काठमाण्डौँको ग्रान्डी अस्पतालमा एक हप्तादेखि उपचार गराईरहनु भएका रावलको बुधबार बिहान निधन भएको हो ।

रावलको मृगौला र फोक्सोमा गम्भीर असर देखिसकेकाले थप स्वास्थ्य समस्या उत्पन्न भएको चिकित्सकले बताएका छन् ।

गैरसरकारी संस्था मालिका विकास संघका प्रशाशन तथा लेखा अधिकृत रहनु भएका रावल सामाजिक अभियन्ता समेत रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button