बर्दिबासमा निषेधाज्ञा जारी

बर्दिबास। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबास मा निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीका ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्यु भएसँग प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
हिजो भएको प्रदर्शन र भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीले बर्दिबास नगरपालिका–१ का ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएपछि पुनः हुन सक्ने आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले थप जनधनको क्षति हुनबाट रोक्नको लागि निषेधाज्ञा जारी गरेको बताउनुभयो ।
बुधवार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लाग निषेधाज्ञा जारी गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताउनुभयो ।
यता, बर्दिबासका स्थानीयले बिहानैदेखि चोकमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । बर्दिबास बजार पूर्णरुपमा बन्द गरिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्