तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा अल्ट्रालाइड उडान कार्तिक २६ गतेबाट सुचारु

पोखरा । पोखरामा साहसिक पर्यटकका लागि अल्ट्रालाइड उडान यही कार्तिक २६ गतेबाट सुचारु भएको छ ।

कोरोना प्रकोपको कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइड उडान मार्फत साहसिक खेलको आनन्दमा रम्दै पर्यटकले सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न पे्ररित गर्न पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको जनाएको छ ।

पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन विशेष छुटमा अल्ट्रालाइट आठ महिनापछि सञ्चालन गरेको जानकारी दिनुभयो । पोखरा विमानस्थलबाट उडान गरी हाल दैनिक चार उडान भइरहेको छ, स्वास्थ्य सतर्कतासहितका मापदण्डमा विशेष ध्यान दिएको श्रेष्ठले बताउनु भयो ।

अहिले ५ हजार ५०० मा अल्ट्रालाइट उडानको आनन्द लिन सकिनेछ ।

प्याराग्लाइडिङ कम्पनीहरूले साबिक दरमा आधा छुट दिएर उडान गरेपछि अहिले पोखरामा प्याराग्लाडिङ गर्नेको समेत घुइँचो लाग्न थालेको छ ।

केही दिनअघि मात्र अल्ट्रालाइटबाट पोखराको आकाशमा उड्नुभएका गल्फ इन्नोभेशन ग्रुप पोखरा शाखाका प्रबन्धक सुजन श्रेष्ठले खुलेको मौसममा अल्ट्रालाइटबाट दृश्यावलोकन गर्दा निकै आनन्द लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button