८४ वडा रहेको बैतडी जिल्लामा १२ वडाको मात्रै आफ्नै भवन
बैतडी । बैतडीका ८४ वडा मध्ये १२ वडाका मात्रै नयाँ भवनहरू निर्माण भएका छन् । आफ्ना भवन नभएका अन्य वडा कार्यालयहरू कोही भाडाका भवनबाट सेवा प्रवाह गर्दै आएका छन् भने, केही साबिकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाका वडाहरू जीर्ण भएका साबिकका गाविस भवनबाट सेवा प्रवाह गर्दा समस्या भएको पञ्चेश्वर २ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता दशरथ मंगोलाले बताउनु भयो ।
अहिले आफ्नै भवनहरू भएका वडा कार्यालयहरूले भने सेवा प्रवाह गर्न निकै सहज भएको बताएका छन् । पाटन नगरपालिका वडा न ९ ले यसअघि भाडाको भवनबाट सेवा दिइरहेकोमा अहिले आफ्नै भवन निर्माण भएपछि काम गर्न निकै सजिलो भएको पाटन ९ का वडाध्यक्ष लोकबहादुर भण्डारी बताउनु हुन्छ ।
बैतडीमा सबैभन्दा बढी वडा भवन बनाउने स्थानियतहमा सिगास गाउँपालिका रहेको छ । जिल्लाको सबैभन्दा दुर्गमा गाउँपालिकाको रूपमा रहेको सिगासले अहिले गाउँपालिकाको भवन सहित ११ वटा नयाँ सरकारी भवनहरू निर्माण गरेको छ । आफ्नै भवन बनेपछि काम गर्न निकै सजिलो भएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकासिंह धामीले बताउनुभयो ।
स्थानियतहमा अहिले जनप्रतिनिधिहरू भए पनि काम गर्ने कार्यालय भवन नहुँदा उनीहरूलाई काम गर्न निकै समस्या रहेको छ । अन्य विकास निर्माणमा बढी ध्यान दिनुभन्दा पनि आफूहरू काम गर्ने भवन निर्माण गरी काम गरिदिए हुन्थ्यो की ? बैतडीका सबै वडा कार्यालयहरूले छिटै भवनहरू निर्माण गर्न सके सेवा प्रवाहमा सजिलो हुने छ । यसतर्फ स्थानियतहहरुको ध्यान जानु जरुरी छ ।







प्रतिक्रिया राख्नुहोस्