लुम्बिनीमा महाकरुणा बुद्धिष्ट अस्पताल सञ्चालन हुने
रुपन्देही । गौतमबुद्धको बुद्ध जन्मस्थल लुम्बिनीमा महाकरुणा बुद्धिष्ट अस्पताल सञ्चालन हुने भएको छ ।
यहाँ आउने पर्यटक, लुम्बिनी क्षेत्रमा बसोबास गर्ने बौद्ध भिक्षुभिक्षुणी र स्थानीयलाई सेवा दिने उद्देश्यले यस्तो योजना अगाडि सारिएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अस्पताल सञ्चालन गर्ने योजना अगाडि सारिएको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न बज्राचार्यले लुम्बिनी विकास कोषसँगको सहकार्यमा स्तरीय अस्पताल सञ्चालनको लागि छलफल भएको बताउनुभयो ।
अस्पतालको विषयमा अवधारणा पेश गर्दै कोषका उपाध्यक्ष त्रिपाठीले ‘जसले बिरामीको सेवा गर्छ, त्यसले मेरो सेवा गरेको हुन्छ’ भन्ने बुद्धबचनलाई अंगीकार गरी योजना अगाडि सारिएको बताउनुभयो ।
उहाँले लुम्बिनीमा अवस्थित अन्तराष्ट्रिय बौद्ध विहार र ध्यान केन्द्रमा बसोबास गर्ने भिक्षु तथा गुरुमाहरु, तथा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी क्षेत्रमा बसोबास गर्ने बासिन्दा र स्वदेशी तथा विदेशी पर्यटकगरी करिब १६ लाखभन्दा बढी मानिसलाई सेवा दिने गरी अस्पताल सञ्चालन गरिने बताउनुभयो ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहकार्यमा लुम्बिनीमा बुद्धिस्ट हस्पिटल सञ्चालन गर्ने योजना बनाएको जनाउनुभयो ।
छलफलमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा.तिलक आचर्य, कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य, लुम्बिनी प्रादेशिक अस्पतालका डा. सागर न्यौपाने, विकास कोषका योजना प्रमुख सरोज भट्टराई, लुम्बिनीका स्थानीय चिकित्सक शंकर गौतम लगायतले लुम्बिनीमा स्तरीय अस्पताल सञ्चालन सम्बन्धमा प्रस्तुत अवधारणामाथि आफ्नो सुझाव पेश गरेका थिए ।
प्राध्यापक केन्जो टांगेको गुरुयोजनामा पनि अस्पताल सञ्चालन गर्ने योजना समावेश छ । लुम्बिनीको विकासमा ११५५ बिगाह जग्गा दिएका स्थानीयको सुविधाका लागि पनि अस्पताल उपलब्धीमूलक हुने देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्