तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनए विज्ञ सम्मेलन : तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध लडाइँ

काठमाडौं- पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताउनुभयो ।

यद्यपि पछिल्ला दुई वर्षयता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको उहाँले बताउनुभयो । पूर्वअर्थमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताउनुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो ।

अर्थतन्त्रका केही ‘इन्डिकेटर’ राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के ग¥यो भन्दै उहाँले प्रश्न गर्नुभयो । अर्थतन्त्र पुनरुत्थानका लागि योजनाबद्ध ढङ्गबाट अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक सङ्कट गहिरिँदै गएको बताउनुभयो । अर्थतन्त्र बिरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोहीअनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

अहिलेको सङ्कटको बेला ठूला व्यवसायीले नाफा नकमाउँदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै उहाँले साना र मझौला उद्योगलाई जोगाउन सरकारले आधा होइन पूरै दिल खोलेर सहयोग गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सीप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभयो ।

समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नुपर्ने उल्लेख गर्दै प्रा डा कँडेलले कोभिड–१९ ले प्राथकिताका क्षेत्र परिवर्तन गरेको बताउनुभयो । स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै उहाँले लकडाउन कारण प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत अन्य रोजगारीका काम सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । साइप्रसका पूर्वअर्थमन्त्री डा मिचेल सारिसले कोभिड–१९ स¬ङ्कटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताउनुभयो ।

एशियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कूल अफ इन्भारोमेन्ट, रिसोर्स एण्ड डेभलपमेन्टका प्रा डा शोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताउनुभयो । १७ वटा गोलमध्ये धेरैजसो लक्ष्य पूरा भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अनलाइन व्यापार, इ–बैंकिङ क्षेत्रमा अवसर बढ्दै गएको छ । अर्थतन्त्रको पुनरुत्थानका लागि तत्कालीन र दीर्घकालीन गरी छुट्टाछुट्टै प्याकेज आवश्यक हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्वराजदूत भीम उदास, महिला तथा बालबालिका मन्त्रालयका सचिव यामकुमारी खतिवडा, एकनाथ खतिवडालगायतले कोभिड–१९ बाट सङ्कटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नुपर्नेमा जोड दिनुभयो । लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र प्रभावित बनेकामा अब डिजिटल व्यापारमा आशा पलाएको उहाँहरूको भनाइ छ । यो सत्रको सहजीकरण अर्थशास्त्री विश्व पौडलले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button