खोरमा पर्यो तनहुँको भानुमा पोथी चितुवा

तनहुँ । तनहुँको भानु नगरपालिका–३स्थित तुर्लिङकोटमा एउटा चितुवा खोरमा परेको छ ।उक्त खोरमा परेको चितुवालाई डिभिजन बन कार्यालय तनहुँको टोलीले नियन्त्रणमा लिएको छ ।
डिभिजन बन कार्यालय तनहुँले थापेको खोरमा परेको चितुवालाई शुक्रबार बिहान नियन्त्रण लिइएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
३÷५ दिन पहिले थापिएको खोरमा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्लेले बताउनुभयो । फलामे खोरमा नै यसपाली चितुवा परेको काफ्लेले बताउनुभयो । उक्त चितुवालाई जिल्ला बाहिर उपयुक्त स्थानमा लगिने काफ्लेले जानकारी दिनुभयो ।
’स्थानीयको कुखुराको खोरमा पसेर कुखुरा मार्न थालेपछि हामीले उक्त स्थानमा खोर राखेका थियौं’ प्रमुख काफ्लेले भन्नुभयो ‘सोही खोरमा चितुवा परेको रहेछ ।‘
शुक्रबार बिहान नियन्त्रणमा आएको चितुवा करिब ३÷४ वर्षको पोथी रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । उक्त चितुवा शारीरिक रुपमा अशक्त रहेको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
चितुवाले स्थानीय सन्तबहादुर तामाङको कुखुराको खोरमा छिरेर गत साउन १८ र १९ गते खोरमा रहेको चारसय भन्दाबढी कुखुरालाई आक्रमण गरेर घाइते बनाएको थियो ।
उक्त आक्रमणपछि तामाङले डिभिजन वन कार्यालय तनहुँमा क्षतिपूर्तिसहित चितुवा नियन्त्रणका लागि निवेदन दिनुभएको थियो ।
अहिलेसम्म जिल्लाको भानु नगरपालिकामा सात वटा, व्यास नगरपालिकामा एउटा, बन्दिपुर गाउँपालिकामा एउटा गरी नौ वटा चितुवा नियन्त्रणमा आइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
यस्तै जिल्लामा पाँचवटा चितुवा मृत फेला परेका छन् ।







प्रतिक्रिया राख्नुहोस्