जुवा खेलिरहेको अवस्थामा नगदसहित १५ जना पक्राउ

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ४ स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गए राति पाख्रिबास नगरपालिका वडा नं. ४ निवासी गणेश गुरुङको घरमा जुवा खेल भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १६ वटा कौडासहित नगद १६ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ । साथै पक्राउ परेका १५ जनाको साथबाट थप २ लाख ९६ हजार ८ सय रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूबाट कुल ३ लाख १३ हजार ३ सय रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा पाख्रिबास नगरपालिका वडा नं. ६ फलाटेका ४२ वर्षीय बुद्धिमान राई र ६५ वर्षीय डिकबहादुर बस्नेत रहेका छन् । त्यस्तै, पाख्रिबास नगरपालिका वडा नं. ८ मुगाका ३३ वर्षीय रञ्जित राई, ५३ वर्षीय सिंहराज घिसिङ, ३६ वर्षीय जीवन राई, ३४ वर्षीय दिनेश राई र ३८ वर्षीय नगेन्द्र राई पक्राउ परेका छन् । यसैगरी, पाख्रिबास नगरपालिका वडा नं ४ का ३९ वर्षीय रविकुमार राई, ५२ वर्षीय लालबहादुर पाख्रिन, ४८ वर्षीय राजकुमार निरौला, ४६ वर्षीय पूर्णबहादुर गुरुङ, ४२ वर्षीय देवेन्द्र पौडेल र ४२ वर्षीय सुम्निमा लिम्बु पनि पक्राउ परेका छन् । त्यस्तै, धनकुटा नगरपालिका वडा नं. १ हिलेका ५३ वर्षीय नन्दकुमार तामाङ र ५८ वर्षीय टीकाराम तामाङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भण्डारी क्षेत्री जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्