तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता कार्यान्वयनका कानुनी जटिलता हटाउन आवश्यक: मुख्यमन्त्री शाही

मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच देखिएका कानुनी जटिलता हटाउन आवश्यक रहेको बताउनु भएको छ ।

मुगुको पर्यटकीयस्थल रारामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले तीनै तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यका आधारमा काम भइरहेको भए पनि कतिपय ऐन तथा कानुन सङ्घीयताको भावना र मर्मअनुसार कार्यान्वयन हुन बाधक बनेको बताउनुभयो ।

उहाँले संघ, प्रदेश र स्थानीय सरकारबीच अधिकार तथा कार्यक्षेत्रसँग सम्बन्धित कानुनी अस्पष्टता हटाउन आवश्यक संशोधन र एकरूपता कायम गर्नुपर्नेमा जोड दिनुभयो  । संघीय शासन प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारबीच आपसी समझदारी आवश्यक रहेको उहाँको भनाइ थियो ।

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले तीनै तहका सरकारबीच आपसी समन्वय र सहकार्य बढाउँदै कार्यसम्पादनमा सहजता ल्याउने खालका नीति निर्माण गर्नु आजको आवश्यकता रहेको धारणा राख्नुभयो। उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सरकारका विभिन्न तहबीच कानुनी तथा संस्थागत समन्वय आवश्यक रहेको बताउनुभयो।

सक्षम मुख्य न्यायाधिवक्ता, सुदृढ प्रदेश सरकार र प्रभावकारी सङ्घीयता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारको आयोजनामा सम्मेलन सुरु भएको हो। सम्मेलनमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरू तथा महान्यायाधिवक्ताको सहभागिता रहेको छ।

सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता गर्नु भएका कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता सर्वराज जोशीले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रदेश सरकारका कानुनी अधिकार, सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका समस्या तथा कानुनी सुधारका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनको पहिलो दिन सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूबाट राय तथा सुझाव सङ्कलन गरिनेछ भने दोस्रो दिन विगतका सम्मेलनबाट जारी घोषणापत्रको कार्यान्वयन अवस्थाबारे समीक्षा गरी रारा घोषणापत्र जारी गरिनेछ।

सम्मेलनले प्रदेश सरकारका कानुनी तथा संवैधानिक अधिकारलाई थप स्पष्ट बनाउनुका साथै संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई प्रभावकारी बनाउन साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलन २० कात्तिकमा रारा तालको किनारमा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ। सम्मेलनले रारा तथा मुगुको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button