तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम–अयोध्या रेल सेवाको परीक्षण

जनकपुरधाम । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा शुभारम्भ हुने भनिएको जनकपुरधाम–अयोध्या रेल सेवाको आज परीक्षण गरिइएको छ ।

भारतको हाँजिपुरवाट १७ बोगी सहितको ब्रोडगेज रेलले धनुषाको कुर्था रेल्वे स्टेसनसम्म परीक्षण गरेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुलीले जानकारी दिनु भएको हो ।

हाजिपुर रेलका एरिष्टल जेनरल म्यानेजर अमरेन्द्र कुमारको नेतृत्वमा आएको ६७ जनाको प्राविधिक सहितका टोलीले रेल्वे ट्रयाक तथा अन्य संरचनाको अनुगमन गर्नुका साथै क्षमताका बारेमा परीक्षण गरेको छ ।

भारतमा हुन लागेको प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधाम–अयोध्या रेल सेवाको शुभारम्भ गर्नु हुने कार्यक्रम रहेको छ ।

नेपालको विभूति माता सीता जन्मेको जनकपुरधामलाई भगवान् श्रीराम जन्मेको अयोध्यासँग सिधा रेल सेवा जोडेर दुवै ठाउँको धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सेवा शुभारम्भ हुने भएको छ । रेल सेवा सञ्चालन भएपछि दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । माता सीताको शुभ विवाह अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामसँग भएका थिए । रेल सेवाले सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्वास गरिइएको छ ।

रेल सेवा सञ्चालनको पहिला देखि नै चर्चा भएपनि विधिवत् रुपमा प्रधानमन्त्री शाहको भारत भ्रमणको क्रममा सञ्चालनको शुभारम्भ हुन लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button