महोत्तरीमा अवैध काठ ओसारपसार गर्दै गरेका दुई ट्र्याक्टरसहित तीन जना पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाबाट अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई थान ट्र्याक्टरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
सम्सी गाउँपालिका–६ स्थित सम्सी चोकमा नियमित जाँचको क्रममा प्रहरीले शङ्कास्पद रूपमा काठ लोड गरिएका दुईवटा ट्र्याक्टरका कागजात माग गरेको थियो। तर, चालकहरूले कुनै पनि वैध कागजात प्रस्तुत गर्न नसकेपछि काठ र ट्र्याक्टरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (DSP) भोला कुमार भट्टका अनुसार प्रहरी निरीक्षक कमल बहादुर शाहीको कमान्डमा खटिएको विशेष टोलीले उक्त कारबाही गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रदेश २-०२ त २१८१ नम्बरको ट्र्याक्टर चालक सम्सी गाउँपालिका–५ बस्ने २३ वर्षीय नवीन साह, प्रदेश २-०२ त २१८२ नम्बरको ट्र्याक्टर चालक स्थानीय २२ वर्षीय विवेक कुमार साह र सोही ट्र्याक्टरका सहचालक सोनमा गाउँपालिका–६ बस्ने २४ वर्षीय अर्जुन साह रहेका छन्।
पक्राउ परेका तीनै जना व्यक्ति, काठ लोड गरिएका दुईवटै ट्र्याक्टर र बरामद गरिएको अवैध काठलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, जलेश्वर (महोत्तरी) पठाइएको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभएको छ।









प्रतिक्रिया राख्नुहोस्