तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सँगै अघि बढाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४७औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले संरक्षण र विकासलाई परिपूरक बनाउँदै स्थानीय समुदायलाई संरक्षणको नेतृत्वकर्ता बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपालका १३ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा शिकार आरक्ष, छ संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रले मुलुकको कूल भूभागको करिब २३।३९ प्रतिशत क्षेत्र समेटेको जानकारी दिनुभयो ।

संरक्षित क्षेत्र व्यवस्थापनमा करिब एक हजार ४०० निजामती कर्मचारी, आठ हजारभन्दा बढी नेपाली सेना तथा स्थानीय समुदाय र संरक्षण साझेदारको योगदान रहेको उल्लेख गर्दै मन्त्री चौधरीले संरक्षण कार्यलाई प्रभावकारी बनाउन व्यावसायिक दक्षता, इमानदारी र संस्थागत प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

बाघ, गैँडा, हिउँ चितुवा, सारस, घडियाल र बाह्रसिङ्गेको संरक्षणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री चौधरीले संरक्षणका उपलब्धिलाई दिगो बनाउन सहभागितामूलक संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा संरक्षणको उच्चतम मापदण्ड कायम राख्दै जैविक विविधता, पारिस्थितिक अखण्डता र प्राकृतिक सम्पदाको संरक्षणमा कुनै सम्झौता गर्न नहुने उहाँको भनाइ थियो ।

पर्यापर्यटन प्रवर्द्धन, होमस्टे विकास तथा जडीबुटी र गैरकाष्ठ वन पैदावारको दिगो सङ्कलन तथा मूल्य अभिवृद्धिमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउन सकिने मन्त्री चौधरीले उल्लेख गर्नुभयो । 

संरक्षण कार्यलाई प्रभावकारी बनाउन अनुसन्धान, प्रविधि र प्रमाणमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्ने उल्लेख गर्दै मन्त्री चौधरीले संरक्षणमा खटिने रेन्जर, गेम स्काउट तथा फिल्ड कर्मचारीको सुरक्षा, क्षमता विकास र मनोबल अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button