भोटेकोशी र त्रिशूली बाढी: उद्धार जारी, आवश्यक प्रविधिको अभाव रहेको सुरक्षा निकायको भनाइ
काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछिको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जनाएको छ ।
राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आज बसेको बैठकमा सुरक्षा निकायका पदाधिकारीहरुले विपद् सामना गर्न उद्धार कार्य र जमिनमुनि पुरिएका शवको पहिचानका लागि चाहिने उपकरण र प्रविधिको अभाव रहेको जानकारी दिनुभयो ।

बैठकमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले विपद्को वर्गीकरण गरी सुरक्षा निकायबीच स्पष्ट जिम्मेवारी र समन्वय कायम गरेमा राष्ट्रिस्तरको विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने सुझाव दिनुभयो ।

नेपाली सेनाका सहायक रथी सुवाश जंग थापाले सुरुङभित्र उद्धार कार्यलाई खोजी तथा शव निकाल्ने चरणमा अघि बढाइएको र सम्बन्धित निकायले नेतृत्व नलिएसम्म सुरुङभित्र खोजी जारी रहने बताउनुभयो ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले स्थानीय तहमा प्रहरी परिचालन गरी सुरक्षा तथा खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।
टिमुरदेखि त्रिबेणी नदी क्षेत्रमा फेला परेका शवको सुरक्षा, डीएनए परीक्षण, शव हस्तान्तरणको अभिलेखीकरणसँगै साइबर र मानवीय सुरक्षा व्यवस्था सुदृढ बनाइएको नेपाल प्रहरीले जनाएको छ ।
बैठकमा होल्डिङ सेन्टरको व्यवस्थापन, पुनर्निमाणका कार्य तथा सुरक्षा सुनिश्चित गर्ने कार्यमा तीन वटै सुरक्षा निकाय सक्रिय रूपमा जुटिरहेको जानकारी दिदै सुरक्षित स्थानमा पूर्वाधार तथा मानव बस्ती व्यवस्थापन र सूचना सम्बन्धि प्रविधि विकास गर्न आवश्यक रहेको सुरक्षा निकायका प्रतिनिधिहरुले बताउनुभयो ।
बैठकमा सांसदहरुले जलवायु परिवर्तनको प्रभाव र जोखिमयुक्त हिमतालहरूको अध्ययन गरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्