तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङको दोभान बजारको आगलागीबाट साढे १४ करोड रुपैयाँ बढी क्षति 

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो दोभान बजारमा आगलागीबाट साढे १४ करोड रुपैंया बढी क्षति भएको छ । बुधबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कमल बजगाईले जानकारी दिनुभयो ।

मिरिङदेन गाउँपालिकाको दोभान बजारमा विद्युत् सटभई आगलागी हुँदा घर सहित कपडा पसल,किराना पसल,अलैँची,भाँडावर्तन, नगद जलेर नष्ट भएको प्रहरीको भनाई छ । आगलागी पीडित परिवारले दिएको जानकारी र आगलागीबाट क्षति पुगेको संरचना तथा व्यवसायलाई आधार बनाएर क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिएको समेत प्रहरी नायव उपरिक्षक बजगाईले जनाकारी दिनुभयो । 

बुधबार दिउँसो दोभान बजारका स्थानीय लाक्पाचुङ शेर्पाको घरबाट सुरु भएको आगलागीले आठ घर पूर्णरुपमा जलेर नष्ट भएको थियो भने दुई घरमा आंशिक क्षति पुगेको प्रहरीको भनाई छ ।

विस्थापित हुनेमा शेर्पाको परिवारसँगै स्थानीय भीम लङ्वा लिम्बू, चन्द्रप्रसाद पौडेल, यामबहादुर आङ्बुहाङ, घनश्याम खरेल, राजु शेर्पा, सुकबिर लिम्बू र राजेन्द्रप्रसाद पौडेलको परिवार छन् । त्यस्तै भाडामा बस्ने अनिसा विक, सुनम लिम्बू, लाक्पा शेर्पा, श्याम चोङ्वाङ, आरती लिम्बू, काशीनाथ चुडाल, विनु लिम्बू, मोहन लिम्बू र खम्बासिंह लिम्बूको परिवार पनि विस्थापित भएको छन् ।

आगलागीबाट आठ घरको आठ परिवार र कोठा भाँडामा बस्ने सात गरी १५ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई जिल्ला रेडक्रस, उद्योग वाणिज्य सङ्घले जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ ।  

यता सोही स्थानमा २०७७ साल फागुन १८ गते भएको भीषण आगलागी हुँदा ५० घर पूर्णरुपमा नष्ट र ६३ परिवार विस्थापित भएका थिए भने ४० करोड रुपैंया बराबरको क्षति भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button