भारी वर्षाको जोखिमपछि ताप्लेजुङमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द

ताप्लेजुङ । ताप्लेजुङमा बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनालाई मध्यनजर गर्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनले मेची राजमार्ग, मेची करिडोरसहित जिल्लाबाट गाउँपालिकाको मुकाम तथा विभिन्न ग्रामीण स्थानका जाने सम्पूर्ण यातायात आवागमनमा रोग लगाइएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराइले जानकारी दिनुभयो ।
प्रशासनले अत्यावश्यक काम नपरी रातको समयमा यात्रा नगर्न, अत्यावश्यक काम परेमा नजिकको प्रहरी प्रशासनको मदत लिएर मात्र यात्रा गर्न आग्रह समेत गरिएको छ । प्रशासनले तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित आयोजनालाई भनिएको छ ।
त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत प्रशासनले आग्रह गरेको छ । अचानक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र खोला–नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ । त्यस्तै, कञ्चनजंघा संरक्षण क्षेत्रमा आएका सम्पूर्ण पर्यटक तथा पदयात्रीले तत्काल यात्रा रद्द गरी सुरक्षित स्थानमा बस्न समेत आग्रह गरिएको प्रशासनले जनाएको छ ।
ताप्लेजुङमा मङ्गलवार रातिदेखि वर्षा भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्