सिधनियाघाट पुलको लम्बाइ बढाउने मागबारे अध्ययन गर्न चार सदस्यीय कार्यदल गठन

बाँके । बाँकेको हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको लम्बाइ बढाउनुपर्ने स्थानीयको मागबारे अध्ययन गर्न चार सदस्यीय कार्यदल गठन गरिएको छ।
हाल सात सय मिटर लामो पुल निर्माण भइरहेको छ। स्थानीयले बाढी, डुबान र कटानको जोखिम न्यूनीकरणका लागि पुलको लम्बाइ एक हजार एक सय ४० मिटर पुर्याउन माग गर्दै आएका छन्।
सडक विभागका अधिकारी र निर्माण व्यवसायीसँग भएको छलफलपछि पुल महाशाखाका प्रमुख ललिजन खनालको नेतृत्वमा कार्यदल गठन गरिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो।
कार्यदलमा पुल महाशाखाका डिभिजनल इन्जिनियर सौरभ बज्राचार्य, योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारी र जियो–टेक्निकल विज्ञ मलुसुधन शर्मा सदस्य हुनुहुन्छ।
कार्यदलले स्थलगत अध्ययन गरी १५ दिनभित्र पुलको लम्बाइ थप गर्ने वा हालकै संरचना सम्पन्न गर्ने विषयमा प्राविधिक सुझावसहित प्रतिवेदन बुझाउनेछ।
हाल पुलको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्