तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा रमदैयाँका २४२ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । संविधान दिवसको अवसर पारेर धनुषाका  क्षिरेश्वरनाथ नगरपालिका वडा नंं २ का २ सय ४२ परिवारलाई आज जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ ।  

साविक रमदैयाँ भवाडी गाउँपालिकाका वडा नंं १, ५ र ९ मा नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । लामो समयदेखि अव्यवस्थित रुपमा स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गरेपछि स्थानीयवासी निक्कै खुशी भएका छन् । 

उक्त वडाको स्ववासी जग्गाको नापजाँच २०७४ सालमै सम्पन्न भएको भए पनि जग्गाको नापजाँच सकिएर कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयले ९ वर्षदेखि जग्गा धनी प्रमाणपूर्जा पाउन सकेका थिएनन् ।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले २४२ परिवारलाई संविधान दिवसको अवसर पारेर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले आज जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभयो । 

उता जग्गाधनी प्रमाणपूर्जा पाएसँगै स्ववासीका रूपमा पुस्तौँदेखि बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ ।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीयलाई उक्त जग्गा किनबेच, बैङ्क तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन तथा भूमिसम्बन्धी विवाद निरुपण गर्न सहज हुने विश्वास नापी कार्यालय धनुषाले गरेको छ । 

यसअघि धनुषामा विभिन्न स्थानका ४ हजार ३ सय ५४ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button