अस्टिम्की चित्रकलाको मौलिकता जोगाउँदै ‘ब्रान्डिङ आवश्यक
नेपालगञ्ज । थारु समुदायको मौलिक लोककला, संस्कृति र पहिचानसँग जोडिएको अस्टिम्की चित्रकलाको संरक्षण, संवर्द्धन र ब्रान्डिङ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालगञ्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा थारु अनुसन्धाता तथा साहित्यकार शेखर दहितले अस्टिम्की चित्रकलाको मौलिकता र महत्वमाथि चर्चा गर्दै पछिल्लो समय यसको स्वरूप र चित्रणमा विचलन आउन थालेको बताउनुभएको छ ।

थारु समुदायको मौलिक कला र सांस्कृतिक पहिचान बोकेको अस्टिम्की चित्रकलालाई आधुनिकताका नाममा परिवर्तन गर्ने क्रम बढेको भन्दै दहितले यसप्रति नयाँ पुस्ता र सम्बन्धित समुदाय सचेत हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार अस्टिम्की चित्रमा परम्परादेखि समेटिँदै आएका सांस्कृतिक, धार्मिक तथा सामाजिक प्रतीकहरूको आफ्नै अर्थ र महत्व छ । ती प्रतीक र संरचनालाई बेवास्ता गर्दै नयाँ शैलीमा चित्रण गर्दा अस्टिम्कीको मौलिक पहिचान नै कमजोर बन्न सक्ने खतरा रहेको उहाँले औँल्याउनुभयो ।
दहितले अस्टिम्की चित्रकलालाई थारु समुदायको विशिष्ट सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्न ब्रान्डिङ गर्न आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार अस्टिम्कीलाई केवल पर्वका अवसरमा बनाइने चित्रका रूपमा सीमित नराखी थारु कला र पहिचानको प्रतिनिधित्व गर्ने मौलिक सांस्कृतिक सम्पदाका रूपमा विकास गर्नुपर्छ ।
पछिल्लो समय अस्टिम्की चित्रमा हुबहु थ्रिडी चित्र राख्ने प्रवृत्ति बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । आधुनिक प्रविधि र नयाँ शैलीले परम्परागत चित्रको मौलिक स्वरूप हराउन नहुने उहाँको भनाइ थियो ।
उहाँले अस्टिम्कीमा अनावश्यक चित्र तथा आकृति थपिने र परम्परागत रूपमा राखिनुपर्ने महत्वपूर्ण चित्र छुट्ने क्रम समेत देखिएको बताउनुभयो । यसले अस्टिम्कीको मौलिक संरचना र सांस्कृतिक अर्थमा विचलन ल्याउने भएकाले चित्र बनाउने पुस्ताले यसको परम्परागत ज्ञान बुझ्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
अस्टिम्की चित्र बनाउने परम्परा पुस्तान्तरण हुँदै आएको भए पनि नयाँ पुस्तामा यसको सांस्कृतिक पक्ष र चित्रका प्रतीकबारे पर्याप्त जानकारी नरहेको दहितले बताउनुभयो । ‘अस्टिम्की लेख्ने’ नयाँ पुस्ता नै यसको मौलिकता र संरचनाबारे सचेत हुनुपर्ने उहाँले जोड दिनुभयो ।
अस्टिम्कीमा समेटिएका हरेक आकृति, रेखा र प्रतीकको सांस्कृतिक अर्थ हुने भएकाले त्यसलाई जथाभाबी परिवर्तन गर्न नहुने उहाँको धारणा थियो । मौलिक चित्रकलाको अध्ययन, अभिलेखीकरण र प्रशिक्षणमार्फत नयाँ पुस्तालाई यसको ज्ञान हस्तान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
थारु समुदायको मौलिक पर्वका रूपमा रहेको अस्टिम्कीमाथि पछिल्लो समय कृष्ण जन्माष्टमीको प्रभाव बढ्दै गएको विषयमा समेत दहितले चिन्ता व्यक्त गर्नुभयो । कृष्ण जन्माष्टमीसँग जोडिएका धार्मिक तथा सांस्कृतिक अभ्यासहरू विस्तार हुँदै जाँदा थारु समुदायको आफ्नै मौलिक पर्व र परम्परा ओझेलमा पर्न थालेको उहाँले बताउनुभयो ।
उहाँले थारु समुदायले आफ्नो मौलिक पर्व, कला र संस्कृतिको संरक्षण आफैँबाट सुरु गर्नुपर्ने धारणा राख्नुभयो । मौलिक पर्वको महत्व नयाँ पुस्तालाई बुझाउन सके मात्र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा भविष्यसम्म सुरक्षित रहने उहाँको भनाइ थियो ।
थारु समुदायले आफ्नो मौलिक पर्वका रूपमा मनाउँदै आएको अस्टिम्की दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा धूमधामका साथ मनाइन्छ । पर्वका अवसरमा थारु समुदायमा विशेष सांस्कृतिक गतिविधिसँगै अस्टिम्की चित्र बनाउने परम्परा रहँदै आएको छ ।
अस्टिम्की चित्रमा थारु समुदायको धार्मिक विश्वास, सामाजिक जीवन, प्रकृति, जीवजन्तु तथा सांस्कृतिक अभ्याससँग सम्बन्धित विभिन्न आकृति र प्रतीकहरू समेटिन्छन् । त्यसैले यो चित्रकला केवल सजावटको माध्यम नभई थारु समुदायको इतिहास, विश्वास, जीवनशैली र सामूहिक पहिचानको दृश्य अभिलेख समेत भएको बताइन्छ ।
कार्यक्रममा जंग्रार साहित्यिक बखेरी नेपालका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले थारु भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि यस्ता सांस्कृतिक सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । थारु समुदायका मौलिक कला र परम्पराको दस्तावेजीकरण गर्दै नयाँ पुस्तासम्म पुर्याउन साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले निरन्तर भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।
अस्टिम्कीको मौलिकता जोगाउन कलाकार, समुदाय, साहित्यकार, अनुसन्धाता र नयाँ पुस्ताबिच सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । थारु समुदायको पहिचान र अस्तित्वसँग जोडिएको अस्टिम्की चित्रकलालाई व्यवस्थित रूपमा संरक्षण, अभिलेखीकरण र ब्रान्डिङ गर्न सके यसले थारु कला–संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्