भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल
धनगढी। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।

मन्त्री रावलले सम्पूर्ण भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने कार्यलाई सरकारले अभियानका रुपमा अघि बढाएको बताउनुभयो ।
आज धनगढीमा भूमि समस्या समाधान समिति कैलालीको बैठकमा मन्त्री रावलले ६ सय दिन भित्र लालपुर्जा वितरण गरिसक्ने सरकारी लक्ष्य रहेकाले भूमि सम्बन्धी कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो । भूमि समस्या समाधान कार्यका लागी सरकारले आवश्यक स्रोत साधन, जनशक्ति उपलब्ध गराउने भन्दै उहाँले स्थानीय तहसँग समन्वय गरि अघि बढ्नु पर्नेमा जोड दिनु भयो । मन्त्री रावलले कैलालीमा चाडै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।
अर्को प्रसङ्गमा मन्त्री रावलले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने काम सुरुवाती भइसकेको बताउनुभयो । सरकारले हाल सम्म ४ हजार सहकारी बचतकर्ताको रकम फिर्ता गरेको उहाँले बताउनु भयो ।मन्त्री रावल कैलाली र कञ्चनपुर जिल्लाको भ्रमणका लागि आज धनगढी आईपुग्नु भएको हो । उहाँ विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्