तपाईँ सुन्दै हुनुहुन्छः

चीनद्वारा नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण

बेइजिङ । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ ।

चीनको मौसम विज्ञान प्रशासन (सीएमए)ले मङ्गलबार जनाएअनुसार, चीन–नेपाल सीमास्थित केरुङ–रसुवा नाकामा गएको घातक पहिरोपछि गत अगस्ट २९ मा नेपालको मौसम विज्ञान विभागलाई माजुको क्लाउड–आधारित परीक्षण संस्करण उपलब्ध गराइएको हो ।

सीएमएका अनुसार नेपालका लागि विशेष रूपमा तयार गरिएको माजु संस्करण विकास गर्दा स्थानीय भौगोलिक अवस्था, विपद्का विशेषता, पूर्वाधार तथा उपलब्ध तथ्याङ्कलाई ध्यानमा राखिएको छ ।

चीनले पहिरोपछि नेपाललाई मौसम पूर्वानुमान तथा पूर्व–सूचनासम्बन्धी सहयोग उपलब्ध गराएको थियो । विपद् राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन उच्च–रिजोल्युसन र द्रुत रूपमा अद्यावधिक हुने मौसम पूर्वानुमान तथा पूर्वसूचना सामग्री उपलब्ध गराइएको सीएमएले जनाएको छ ।

सीएमएले उत्तरपश्चिमी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुम्कीमा आयोजित दोस्रो चीन–मध्य एसिया मौसम सहयोग मञ्चमा नेपालका लागि तयार गरिएको माजु संस्करण हस्तान्तरण गरेको हो ।

माजु बहु–जोखिम पहिचान, पूर्वसूचना र मौसमसम्बन्धी जोखिम व्यवस्थापनका लागि विकास गरिएको एआईमा आधारित प्रणाली हो । यसको नाम समुद्रकी चिनियाँ संरक्षक देवी ‘माजु’बाट राखिएको हो ।

कार्यक्रममा सीएमएले सन् २०२६/२०२७ का लागि मध्य एसियाली देशमा माजु प्रणाली लागू गर्ने योजना पनि सार्वजनिक गरेको छ । यसको उद्देश्य चीन र मध्य एसियाली देशबीच मौसमसम्बन्धी सहयोग विस्तार गर्नुका साथै क्षेत्रीय विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्नु रहेको जनाइएको छ ।

सीएमएका प्रमुख चेन झेन्लिनका अनुसार माजु हाल सात देशमा प्रयोगमा छ भने ५० भन्दाबढी देशमा यसको क्लाउड–आधारित परीक्षण भइरहेको छ । सीएमएले प्रणालीको अन्तर्राष्ट्रिय प्रयोग विस्तार गर्ने योजना बनाएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button