छात्राहरूलाई कक्षा ११ र १२ निःशुल्क पढाउँदै रामग्राम
परासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूलाई निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ।

छात्राहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्ने तथा आर्थिक अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले नगरपालिकाले चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि १८ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो।
नगरप्रमुख धनपत यादवका अनुसार नगरभित्रका चारवटा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ अध्ययनरत ३ सय ७७ छात्रा यस कार्यक्रमबाट लाभान्वित हुनेछन्। नगरपालिकाले प्रत्येक छात्राका लागि ५ हजार रुपैयाँका दरले विद्यालयलाई रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
“ग्रामीण क्षेत्रमा विशेषगरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी सम्बन्धित विद्यालयमै रकम पठाउने गरी पत्राचार गरेका छौँ,” नगरप्रमुख यादवले भन्नुभयो।
आर्थिक अभावका कारण माध्यमिक तहपछि छात्राहरूको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। यसबाट छात्राहरूलाई उच्च शिक्षा हासिल गर्न प्रेरणा मिल्नुका साथै अभिभावकमाथिको आर्थिक भारसमेत कम हुने अपेक्षा गरिएको छ।
नगरपालिकाले शिक्षामा पहुँच विस्तार गर्दै छात्राहरूको निरन्तर अध्ययनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्