तपाईँ सुन्दै हुनुहुन्छः

मौसम तथा विपद् सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौँ I सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले नागरिक सचेतनाका लागि मौसम तथा विपद् सम्बन्धी डिजिटल सामग्री निर्माण सम्बन्धी एक दिने कार्यशाला आज सम्पन्न भएको छ ।

सिंहदरबारस्थित रेडियो नेपालमा भएको कार्यशालामा सार्वजनिक सेवा प्रसारण नेपाल र बिबिसी मिडिया एक्सनको सहकार्यमा मौसम तथा विपद्का घटनामा नागरिक सचेतना, पूर्वतयारी, सावधानीका विषयमा केन्द्रित भई डिजिटल भिडियो सामग्री निर्माण गर्नेबारे छलफल भएको हो ।

कार्यशालामा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले डिजिटल भिडियो सामाग्री निर्माण गर्दा सबै भाषा, संस्कृति र समुदायलाई ध्यानमा राखेर निर्माण गर्न सुझाव दिनुभयो ।

कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक भिडियोमार्फत विपद् र मौसमसँगै आम जनताका आर्थिक, सामाजिक विषयलाई समेत जोड्न सकिने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य सोविता रिसालले सूचना सन्देशमार्फत जनाताका जीवनमा प्रभाव पार्न सक्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले सार्वजनिक सेवा प्रसारणले सूचना, सन्देश, पात्र वा संवाद जुनसुकै माध्यमबाट भए पनि समयानुकूल जनतालाई छुने गरी प्रभावकारी रूपमा सूचना सन्देश निर्माण तथा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सार्वजनिक सेवा प्रसारणले जनताको अपेक्षा अनुसार सत्य तथ्य र सन्तुलित सन्देश प्रवाहको महत्त्वपूर्ण दायित्व पुरा गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यशालामा बिबिसी मिडिया एक्सनका किरण भण्डारीले सार्वजनिक सेवा प्रसारणसँगको सहकार्यमा विपद् र मौसम सम्बन्धी सूचना सन्देश प्रवाह गर्नुले आम नागरिकमा सचेतना र जीवन रक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

रेडियो र टेलिभिजनका संचारकर्मीहरुवीच भएको कार्यशालाको सहजीकरण उप निर्देशक जर्नादन विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button