तपाईँ सुन्दै हुनुहुन्छः

बाल न्याय प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ : मन्त्री वादी

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता वादीले बाल सुधार गृहका महिला तथा बालबालिकाको अधिकार संरक्षण, पुनर्स्थापना र बाल न्याय प्रणाली सुधारलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बादीले क्षमताभन्दा बढी बालबालिका रहेका बाल सुधार गृहहरूमा बाल न्याय प्रणाली सुदृढ गर्न सुधारमुखी न्याय र संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

बालगृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था तथा अनुगमनसम्बन्धी छलफलमा मन्त्री बादीले अवैध रूपमा विदेश लगिएका तथा हराएका बालबालिकाको खोजी, पुनर्स्थापना र पारिवारिक पुनर्मिलन प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

बैठकमा मन्त्री बादीले लागुऔषध नियन्त्रण र व्यवहार सुधारका कार्यक्रम प्रभावकारी बनाउदै सुधार गृहका बालबालिकालाई पौष्टिक आहार,  शिक्षा, मनोरञ्जन, सीप विकास र रोजगारीका तालिमहरू सञ्चालन गर्न नीतिगत सुधार गरिने पनि बताउनुभयो । 

यस्तै मन्त्री बादीले परिवारविहीन ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई युवासँग जोड्दै उहाँहरूको सामाजिक सहभागिता र सम्मानजनक जीवन सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

बैठकमा सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसापीडित महिलाको सुरक्षा र पुनःस्थापनाका लागि उद्धार कोषको व्यवस्था गर्नुपर्ने तथा यौन हिंसाबाट जन्मिएका बालबालिकाको जन्मदर्ता र नागरिकता लिने प्रक्रियामा देखिएका कानुनी समस्या समाधान गर्नुपर्नेमा ध्यानाकर्षण गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button