तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएल अस्ट्रेलियाको पाँचौँ संस्करण अगस्ट १६ मा सुरु हुने

काठमाडौँ । सिड्नीमा आयोजना हुँदै आएको नेपाली समुदाय स्तरीय क्रिकेट प्रतियोगिता नेप्लिज प्रिमियर लिग अस्ट्रेलिया (एनपीएल अस्ट्रेलिया) को पाँचौँ संस्करण अगस्ट १६ देखि सुरु हुने भएको छ । प्रतियोगिता सेप्टेम्बर १३ सम्म सञ्चालन हुनेछ ।

विगतमा चार टोलीबिच प्रतिस्पर्धा हुँदै आएकोमा यस संस्करण मार्कक्यू होम्स रारा रोयल्स थपिएसँगै सहभागी टोलीको संख्या पाँच पुगेको छ । प्रतियोगितामा रे प्रोपर्टिज गोक्यो हिरोज, भाइब्रेन्ट बेगनास स्टार्स, रुबी होम्स तिलिचो टाइटन्स र क्यापेला शे–फोक्सुन्डो स्ट्राइकर्सले पनि प्रतिस्पर्धा गर्नेछन् । यस सिजन नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अविनाश बोहरा, पवन सर्राफ, जितेन्द्र मुखिया, कमलसिंह ऐरी र कृष्ण कार्की प्रमुख आकर्षणका रूपमा रहनेछन् ।

हालै सम्पन्न अक्सनमा कृष्ण कार्की २ हजार २ सय तथा साहिल खान २ हजार १ सय अष्ट्रेलियन डलरमा अनुबन्ध भएका थिए । चार टोलीबाट सुरु भएको प्रतियोगिताले अस्ट्रेलियामा रहेका नेपाली क्रिकेट प्रतिभालाई अवसर प्रदान गर्दै आएको छ । गत संस्करणमा नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछाने र अविनाश बोहराले पनि सहभागिता जनाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button