बैतडीका ६२ वडामा छैनन् स्थायी सचिव, प्राविधिक र करारका कर्मचारीको भरमा सेवा प्रवाह
बैतडी। १० वटा स्थानीय तह रहेको बैतडी जिल्लाका ८४ वडा कार्यालयमध्ये २२ वटामा मात्रै वडा सचिवको दरबन्दी परिपूर्ति भएको छ । बाँकी रहेका ६२ वडामा करारका कर्मचारी, प्राविधिक, स्वास्थ्यकर्मी तथा कम्प्युटर अपरेटरलाई सचिवको जिम्मेवारी दिइएको छ।
जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका सबै वडामा स्थायी सचिव नहुँदा प्राविधिक, स्वास्थ्यका कर्मचारी र करारका कर्मचारीले सचिवको कार्यभार सम्हालिरहेका छन् ।
स्थानीय तहका अनुसार पाटन नगरपालिकाका ७, पुर्चौडी नगरपालिकाका ९, मेलौली नगरपालिकाका ७ र दशरथचन्द नगरपालिकाका ४ वडामा सचिवको दरबन्दी रिक्त छ । यस्तै, दोगडाकेदार गाउँपालिकाका ४, पञ्चेश्वरका ४, सुर्नयाका ८, डिलाशैनीका ५, सिगासका ९ र शिवनाथ गाउँपालिकाका ५ वडामा पनि स्थायी सचिव छैनन्। दरबन्दी परिपूर्ति नभएका यी वडाहरूमा प्राविधिक, स्वास्थ्यका कर्मचारी, कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको छ।
१० वटा वडा रहेको पाटन नगरपालिकाका वडा न-२, ६ र १० मा मात्रै सचिवको दरबन्दी परिपूर्ति भएको छ । बाँकी ७ वडामा प्राविधिकहरूलाई दोहोरो जिम्मेवारी दिइएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टले जानकारी दिनुभयाे।
११ वडा कार्यालय रहेको दशरथचन्द नगरपालिकाका वडा न-१, २, ३ र ५ मा प्राविधिकलाई सचिवको जिम्मेवारी दिइएको छ। बाँकी ७ वडामा भने सचिवहरूको दरबन्दी परिपूर्ति भइसकेको सूचना अधिकारी राज बिष्टले बताउनुभयाे।
१० वडा कार्यालय रहेको पुर्चौडी नगरपालिकामा वडा न-१० बाहेक बाँकी ९ वटा वडामा प्राविधिकहरूलाई नै सचिवको काम दिइएको छ । वडा न-२ को कार्यालयमा कसैलाई पनि सचिवको जिम्मेवारी नदिइएकाले पूर्ण रूपमा खाली रहेको नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले जानकारी दिनुभयाे।
९ वटा वडा रहेको मेलौली नगरपालिकामा वडा न-३ र ८ मा मात्रै सचिव छन् । बाँकी वडाहरूमा कम्प्युटर अपरेटर लगायत प्राविधिकहरूलाई सचिवको जिम्मेवारी दिइएको सूचना अधिकारी सपना कार्कीले बताउनुभयाे।
८ वटा वडा रहेको दोगडाकेदार गाउँपालिकामा वडा न-३, ४, ५ र ८ मा सचिव छन् भने बाँकी ४ वडामा प्राविधिक समूहका कर्मचारीले सचिवको भूमिका निर्वाह गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिनुभयाे।
६ वटा वडा रहेको पञ्चेश्वर गाउँपालिकामा वडा न-३ र ६ मा मात्रै दरबन्दी परिपूर्ति छ । बाँकी ४ वडामा प्राविधिकलाई दोहोरो जिम्मेवारी दिएर काम चलाइएको गाउँपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख रोशन चन्दले जानकारी दिनुभयाे।
८ वटा वडा रहेको सुर्नया गाउँपालिकाका सबै वडामा प्राविधिकहरू नै सचिवका रूपमा कार्यरत छन् । सुर्नया–३ र ४ मा भने प्राविधिक समूहका दानसिंह बिष्टलाई दुवै वडाको सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका सूचना अधिकारी रामसिंह महराले बताउनुभयाे ।
७ वटा वडा रहेको डिलाशैनी गाउँपालिकाका वडा न-२ र ६ मा मात्रै स्थायी सचिव छन् । बाँकी ५ वडामा प्राविधिक र स्वास्थ्य समूहका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताउनुभयाे । “कर्मचारी परिपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ, समयमै सेवाग्राहीलाई सेवा दिन सकिएको छैन,” अध्यक्ष जोशीले भन्नुभयाे ।
६ वटा वडा रहेको शिवनाथ गाउँपालिकाको वडा नं. १ मा मात्रै सचिव छन् । बाँकी ५ वटा वडामा प्राविधिक र करारका कर्मचारीलाई जिम्मेवारी दिइएको सूचना अधिकारी महेशसिंह महताले जानकारी दिनुभयाे।
९ वटा वडा रहेको सिगास गाउँपालिकाका सबै वडामा प्राविधिक तथा करारका कर्मचारीलाई नै सचिवको जिम्मेवारी दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बोहराका अनुसार प्रशासनतर्फका स्थायी कर्मचारीको चरम अभाव छ । “भौगोलिक रूपमा दुर्गम भएकाले यहाँ कर्मचारी आउन मान्दैनन्, आइहाले पनि छिट्टै सरुवा मागेर जान्छन् । त्यसैले करारका कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने बाध्यता छ,” बोहराले भन्नुभयाे ।








प्रतिक्रिया राख्नुहोस्