महँगी लगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानका लागि मल र सिँचाइको व्यवस्था, बजारमा देखिएको खाना पकाउने ग्याँसको अभाव, महँगी लगायतको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले विद्युत् महसुल, राहदानी, सवारी चालक अनुमति पत्र लाइसेन्स र मालपोतका काममा सर्वसाधारणले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसदहरुले किसानका लागि समयमा मल, सिँचाइ उपलब्ध हुन नसकेका कारण कृषि उत्पादनमा समस्या उत्पन्न भइरहेको भन्दै भारतबाट सहज रुपमा मल आपूर्तिको व्यवस्था गर्न र किसानलाई सहज रुपमा उपलब्ध गराउन माग गर्नुभयो ।
सांसदहरुले धार्मिक वा जुनसुकै नाम हुने हिंसात्मक कार्यले क्षति हुने भएकाले यस्ता कार्य रोक्न सरकारको ध्यानाकर्षण गराउँदै सुनसरी र तराई मधेश घटनाका विषयमा निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको माग गर्नुभयो ।
सांसदहरुले जनताको अपेक्षा अनुसार काम हुन नसेको, नागरिकले प्रभावकारी सेवा सुविधा प्राप्त गर्न नसकिरहेको, नागरिक सुरक्षित बन्न नसकेको भन्दै समयमा नै नागरिकको सुरक्षाका लागि काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले लामो समयदेखि संसदमा उपस्थित हुन माग गरिरहेको भए पनि प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित नभएको तथा संसदमा उपस्थित हुँदा समेत राष्ट्रिय पोशाक र संसद्को मर्यादा कायम राख्ने कुरामा चुकेको आरोप लगाउनुभयो ।
बैठकमा सांसदहरुले नुवाकोट लगायत विभिन्न ग्रामीण भेगमा सडक विस्तारको अभावमा मानिसहरूले कष्टकर जीवन बिताउन बाध्य रहेको तथा स्वास्थ्य शिक्षा लगायतबाट वञ्चित हुन परिरहेको भन्दै समस्या समाधानका लागि पहल गर्न माग गर्नुभयो ।
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै विरोध गर्नुभयो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्ति अविलम्ब फिर्ता लिन र सच्याउन माग गर्दै गत जेठ १७ गतेदेखि सदनमा विरोध गर्दै आउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्