तपाईँ सुन्दै हुनुहुन्छः

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा मङ्गलबार दिउँसो तीन जना बालबालिका डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, सोही स्थानका शेख खुरौसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू दिउँसो करिब १ः५० बजे लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा सात जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा १६ जनाको टोली खोजी कार्यमा खटिएको छ ।

बेपत्ता बालबालिकाको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा नौ जनाको डाइभिङ तथा उद्धार टोली रबर बोटसहित घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दासमेत नदीमा बेपत्ता बालबालिकाको खोजीमा जुटेका छन् । साँझसम्म पनि बालबालिकाको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button