तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा बोलेरो जिप दुर्घटना, तीन जना घाइते

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका वडा ४ लौठीको ठुलाखोला नजिकै बोलेरो जिप दुर्घटना भएको छ । लौठी गाउँ नजिकै रहेको घट्टेखोलामा रहेको ओरालो झर्दै गर्दा वर्षका कारण चिप्लिएर दुर्घटनामा परेको हो । 

अदानचुली गाउँपालिका वडा नम्बर ५ करगईबाट गाउँपालिकाको केन्द्रतिर आउँदै गरेको सोही गाउँका रन छत्यालको भे १ च १६८६ नम्बरको बोलेरो जिप दुर्घटना भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका हवल्दार मानबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका जीपमा पाँच जना सवार रहेको र तीन जना घाइते भएका छन् । 

दुर्घटनामा अदानचुली गाउँपालिका–५ की २३ वर्षीया बिमला शाही, सोही वडाकी ३५ वर्षीया कालु छत्याल र जीप चालक चंखेली गाउँपालिका–३ का उज्वल बुढा घाइते भएका छन् । उहाँहरूलाई अहिले उद्धार गरी प्राथमिक उपचारको लागि श्रीनगर स्वास्थ्य चौकीमा ल्याइएको भएपनि बिमला शाहीको हातको हड्डी नै भाँचिएकाले सुर्खेत पठाउने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बिनोद बुढाले बताउनु भयो । 

स्वास्थ्य संयोजक बुढाका अनुसार चालक बुढाको खुट्टामा चोट लागेको छ भने बिमला शाहीको बायाँ हात भाँचिएको र कालु छत्यालको टाउकोमा चोट लागेको बताउनु भयो । प्रहरीका अनुसार जीप उकालोबाट ओरालो झर्ने क्रममा खाल्डा खुल्डी भएको ठाउँमा चिप्लिएर सडकमै पल्टिँदा दुर्घटनामा जीपको अगाडिको भाग तथा बायाँ साइडको सिसामा क्षति पुगेको छ ।

सडकको अवस्थाप्रति स्थानीय आक्रोशित

दुर्घटनापछि स्थानीयवासीले भने सडकको दुरावस्थाका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन् । बाइकोटको उक्त सडकखण्ड निकै ठाडो हुनुका साथै सडकमा ठाउँ–ठाउँमा ठूला खाल्डाखुल्डी रहेका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको स्थानीय नागरिकको भनाइ छ ।

स्थानीयका अनुसार सडकको जोखिमबारे पटक–पटक आवाज उठ्दै आए पनि सडक सुधारका लागि जिम्मेवार निकायले प्रभावकारी काम गर्न सकेको छैन । उक्त सडकको स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेट अन्तर्गत सडक स्तरोन्नतिको ठेक्का समेत परिसकेको भए पनि ठेक्का सम्झौताको म्याद सकिँदासम्म ठेकेदार कम्पनी काममा नआएको स्थानीयको आरोप छ ।

प्रदेश सरकारले विनियोजन गरेको बजेट अन्तर्गतका यस्ता पूर्वाधार योजनाको कार्यान्वयन तथा अनुगमन जिल्ला स्थित पूर्वाधार विकास कार्यालय मार्फत हुँदै आएको छ । तर ठेक्का सम्झौताको म्याद सकिएको करिब एक महिना बितिसक्दा समेत सडक स्तरोन्नतिका लागि कार्यालय र ठेकेदार कम्पनी दुवै सक्रिय नभएको स्थानीयको गुनासो छ । 

पूर्वाधार विकास कार्यालय मार्फत गत वर्ष ताँजाकोट गाउँपालिका वडा नम्बर ५ का गोपाल बुढाले ठेक्का पाएका थिए तर उनले कामनै सुरु नगरी समयावधि सकिएको वडा नम्बर ४ का वडा अध्यक्ष मनरिसी पाण्डेले बताउनु भयो उहाँका अनुसार पूर्वाधार विकास कार्यालय र इन्द्र बुढाको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउनु भयो ।

बोलेरो जिप दुर्घटना भएको ठाउँ अत्यन्तै जोखिम छ त्यसको मर्मतकै लागि गत वर्ष प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

ठेक्का रद्द गरेर तत्काल सडक मर्मत गर्न माग

सडकको अवस्था सुधार नगर्दा आगामी दिनमा पनि यस्तै दुर्घटना दोहोरिन सक्ने भन्दै अदानचुलीका स्थानीयले आक्रोश व्यक्त गरेका छन् । स्थानीयले काम गर्न नआएको ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का आह्वान गरेर भए पनि जोखिमयुक्त सडक खण्डको तत्काल स्तरोन्नति तथा मर्मत गर्न माग गरेका छन् ।

सडकको दुरावस्थाका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै स्थानीयले सम्बन्धित कार्यालय र ठेकेदार कम्पनीलाई गम्भीर बन्न आग्रह गरेका छन् आगामी दिनमा यही सडकखण्डमा सडककै कारण दुर्घटना दोहोरिए त्यसको जिम्मेवारी सम्बन्धित ठेकेदार कम्पनी र सरोकारवाला निकायले लिनुपर्ने वडा अध्यक्ष पाण्डेको भनाइ छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button