तपाईँ सुन्दै हुनुहुन्छः

नष्ट भएका अभिलेखको विकल्पमा उपलब्ध प्रमाणबाट बेरुजु प्रमाणीकरण गर्न सकिने : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नष्ट भएका प्राथमिक स्रेस्ताको अभिलेख पुनः प्राप्त गर्न नसकिने अवस्थामा द्वितीय स्रोतका तथ्याङ्कबाट बेरुजु प्रमाणीकरण गर्न सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री डा. वाग्लेले नष्ट भएका प्राथमिक तथ्याङ्कको विकल्पमा उपलब्ध अन्य स्रोतबाट तथ्याङ्कको प्रमाणीकरण गरी आवश्यक प्रक्रिया र नीतिगत सुधार अघि बढाउन सरकार प्रतिबद्धता रहेको बताउनुभयो ।

मन्त्री डा. वाग्लेले अभिलेख पुनर्निर्माण वा प्रमाणीकरणका क्रममा अनियमितता, क्षति तथा दुरुपयोगको आशङ्का देखिएमा सम्बन्धित कार्यालयमा आवश्यक निगरानीको व्यवस्था मिलाउन सकिने बताउनुभयो ।

बैठकमा सांसदहरुले स्रेस्ता जलेको आधारमा मात्रै कानूनी रुपमा बेरुजु तथा अनियमितता कायम गर्न नहुने उल्लेख गर्दै कारोबार सम्बन्धी प्रमाण र आवश्यक कागजातका आधारमा लेखापरीक्षण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

क्षतिको ३० दिनभित्र मूल्याङ्कन गरी तीन तहमा वर्गीकरण गर्नुपर्ने तथा १५० भन्दा बढी कार्यालय र संस्थाको अवस्था समेत व्यवस्थित रूपमा मूल्याङ्कन गर्नुपर्ने सांसदहरूले जोड दिनुभयो ।

यस्तै सांसदहरुले भविष्यमा बेरुजु र अनियमितताको प्रमाणीकरण गर्न डिजिटल अभिलेख र सुरक्षा प्रणालीलाई प्राविधिक रुपमा सुदृढ बनाउनुपर्ने औँल्याउनुभयो ।

बैठकमा सांसदहरुले बेरुजु तथा अन्य अनियमितताको वास्तविक अवस्था पहिचान गर्न वैकल्पिक माध्यम, उपलब्ध प्रमाण र अभिलेखको स्रोत सुनिश्चित गरी सही तथ्याङ्क पुनः प्राप्त गरी प्रमाणीकरण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button