तपाईँ सुन्दै हुनुहुन्छः

युवालाई स्वदेशमै रोजगारी दिने गरी सरकार अघि बढेको छ : मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले युवालाई उच्च प्राथमिकतामा राखेर देशभित्र नै रोजगारी प्राप्त हुनेगरी काम अगाडी बढाएको बताउनुभएको छ ।

संसदमा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा श्रममन्त्री यादवले युवाका लागि सिप विकास, रोजगारीका सिर्जना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।

मन्त्री यादवले नेपालको ठुलो युवा जनसङ्ख्या चुनौती होइन, ऐतिहासिक अवसर हो भन्दै युवा जनशक्तिको ऊर्जा र सीपलाई सही दिशामा परिचालन गर्न सके देशको आर्थिक रूपान्तरणको मुख्य शक्ति युवा पुस्ता नै बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले युवाको सवाल बहुआयामिक विषय भएकाले विभिन्न मन्त्रालय र निकायले कार्यक्रमहरू सञ्चालन गरिरहेको र ती प्रयासहरूलाई राष्ट्रिय प्राथमिकतासँग जोड्ने र समन्वय गर्ने काम मन्त्रालयले गरिरहेका पनि बताउनुभयो ।

उहाँले युवा ऐन र नीतिको नयाँ मार्गचित्र राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी बनाउन राष्ट्रिय युवा परिषद् ऐन–२०७२ को समसामयिक पुनरावलोकन गर्न लागिएको जानकारी गराउनुभयो । 

मन्त्री यादवले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन ‘युवा नीति–२०८२’ ल्याइएको बताउनुभयो ।

मन्त्री यादवले रोजगारी र सीप विकासका विशेष कार्यक्रमअन्तर्गत मन्त्रालयले रोजगार प्रवद्र्धन दशकलाई उच्च प्राथमिकतामा राखेको र यसको लक्ष्य स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा लगाउनु रहेको बताउनुभयो ।

उहाँले युवाहरूलाई उद्यमशीलतासँग जोड्न स्थानीय तहका रोजगार सेवा केन्द्रहरूलाई अब रोजगार सीप तथा उद्यमशीलता केन्द्रका रूपमा रूपान्तरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button