मलको अभाव भएपछि रौतहटका किसान समस्यामा

रौतहट । धानबालीका लागि आवश्यक रासायनिक मलको अभाव भएपछि रौतहटका किसान समस्यामा परेका छन् ।
धान रोप्ने तयारीमा रहेका किसान डिएपी मलको खोजीमा छन् भने रोपाइँ सम्पन्न गरेका किसान युरिया मलका लागि सहकारी तथा डिलर धाउन बाध्य भएका छन् ।
धान रोपाइँ सम्पन्न भएसँगै खेतमा युरिया मल हाल्ने समय भए पनि बजारमा पर्याप्त मल उपलब्ध नहुँदा किसानले सास्ती खेप्नुपरेको हो ।
मल आउने सूचना पाएपछि किसान बिहान उज्यालो नहुँदै सहकारी तथा डिलरको अगाडि पुगेर लाइनमा बस्ने गरेका छन् । तर, मागअनुसार मल उपलब्ध नहुँदा घण्टौँ कुर्दासमेत धेरै किसान रित्तो हात फर्किनुपर्ने अवस्था रहेको छ ।

रौतहटका १८ वटै स्थानीय तहमा मल वितरण गर्ने सहकारी तथा डिलरले समेत मागअनुसार मल प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आउने अनुदानको मल सीमित मात्रामा प्राप्त हुँदा किसानको माग धान्न कठिन भएको उनीहरूको भनाइ छ ।
एकै समयमा अधिकांश किसानले धान रोपाइँ सम्पन्न गरेपछि मलको माग एकाएक बढेको हो । रोपाइँका बेला डिएपी र रोपाइँ सम्पन्न भएपछि पहिलो पटक युरिया प्रयोग गर्ने भएकाले अहिले युरिया मलको माग अत्यधिक बढेको किसानहरु बताउँछन् ।
मल लिन पुगेका किसानबीच कतिपय स्थानमा तँछाडमछाडसमेत हुने गरेको छ । सीमित परिमाणमा मल आउने र किसानको सङ्ख्या धेरै हुने भएपछि सहकारी तथा डिलर सञ्चालकलाई व्यवस्थित रुपमा मल वितरण गर्नसमेत समस्या भएको छ । कतिपय स्थानमा विवाद हुन थालेपछि सुरक्षाकर्मीको सहयोग लिएर मल वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको वृन्दावन नगरपालिका–४ का सहकारी सञ्चालक निरस राय यादवले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा मलको अभाव अझ बढी देखिएको छ । खेतमा धानको बिरुवा हुर्किँदै गए पनि समयमा युरिया मल हाल्न नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता किसानमा बढेको छ ।
वृन्दावन नगरपालिका–१ का किसान राम केवल बजगाईले धानमा मल हाल्ने समय भइसक्दा पनि सहकारीबाट सहज रुपमा मल पाउन नसकेको बताउनुभयो । “धानमा मल हाल्ने बेला भइसक्यो तर सहकारीमा पुग्दा मल सकिएको हुन्छ । बिहानैदेखि लाइनमा बसे पनि मल पाइँदैन । बाध्य भएर एक हजार रुपियाँमा पाइने युरिया मल २ हजारदेखि २३ सय रुपैयाँसम्म तिरेर किन्नुपरेको छ,” उहाँले भन्नुभयो ।

स्थानीय किसान गणेश पटेलले पनि मलका लागि किसानले लामो समयदेखि समस्या भोग्दै आएको बताउनुभयो । उहाँका अनुसार मल वितरणको स्पष्ट व्यवस्था नहुँदा किसानलाई सहकारी, डिलर र निजी पसल धाउनुपर्ने बाध्यता छ । “मल लिन बिहानै सहकारी पुग्दा किसानको लामो लाइन हुन्छ । केही किसानले मल पाउँछन्, धेरैजसो किसान मल सकियो भन्दै फर्कनुपर्छ । समयमा मल नपाउँदा धानको उत्पादन घट्ने चिन्ता छ,” पटेलले भन्नुभयो ।
किसानहरुले धान खेतीका लागि आवश्यक मलको मात्रा पहिले नै अनुमान गरेर आपूर्ति तथा वितरणको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार हरेक वर्ष रोपाइँको समयमा मलको अभाव हुने गरे पनि समस्या समाधानका लागि दीर्घकालीन योजना बन्न सकेको छैन ।
अनुदानको मल सहज रुपमा नपाएपछि किसान निजी बजार तथा सीमावर्ती क्षेत्रबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएका छन् । सरकारी दरमा पाइने मल बजारमा नपाएपछि भारतीय मल तथा अन्य स्रोतबाट ल्याइएको मल महँगोमा खरिद गर्नुपरेको किसानहरूको गुनासो छ ।
किसानहरुले कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङका स्थानीय डिलरले मागअनुसार मल उपलब्ध नभएको बताउँदै आएका छन् । माथिल्लो निकायबाट सीमित कोटा आउने भएकाले चाहे जति मल वितरण गर्न नसकिएको डिलर सञ्चालकहरूको भनाइ छ ।
मलको माग अत्यधिक बढेको समयमा पर्याप्त आपूर्ति हुन नसक्दा किसान र डिलर दुवै दबाबमा परेका छन् । डिलर सञ्चालकहरूका अनुसार मल आउने बित्तिकै किसानको भीड लाग्ने र उपलब्ध परिमाण केही समयमै सकिने गरेको छ ।
किसानहरुले धानबालीको महत्वपूर्ण चरणमा मलको अभाव हुन नदिन तत्काल पर्याप्त युरिया र डिएपी उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । समयमै मल उपलब्ध नभए त्यसको प्रत्यक्ष असर धानको उत्पादनमा पर्ने उनीहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्