तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानीको मुहान संरक्षण र विद्युत् महसुल सहुलियतमा जोड

नवलपरासी। खानेपानीको मुहान संरक्षण गर्न तथा शुद्ध खानेपानीमा नागरिकको पहुँच विस्तार गर्न खानेपानी संस्थालाई विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन सरोकारवालाले जोड दिएका छन्।

राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल, लुम्बिनी प्रदेशको जिल्ला भेला तथा क्षमता अभिवृद्धि कार्यक्रममा वक्ताहरूले पानीका मुहान र भू–जल सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुहान संरक्षणलाई प्राथमिकता दिन आग्रह गरे।

बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले खानेपानी सेवा अत्यन्त संवेदनशील भएकाले गुणस्तरीय र निरन्तर सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाले निःशुल्क खानेपानी ल्याब सञ्चालन गर्ने तयारीसँगै ‘एक घर, एक धारा’ अभियान अघि बढाएको जानकारी दिनुभयो।

महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले खानेपानी आयोजना वितरण गर्दा पहुँचका आधारमा नभई उपभोक्तामुखी नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो।

महासंघकी गण्डकी प्रदेश अध्यक्ष बिमला पहाडीले गण्डकी प्रदेशमा खानेपानी संस्थालाई विद्युत् महसुलमा सहुलियत दिइएको उल्लेख गर्दै लुम्बिनी प्रदेशमा पनि त्यस्तो व्यवस्था लागू गर्न पहल भइरहेको बताउनुभयो। उहाँले महासंघकै पहलमा खानेपानी संस्थामाथिको २५ प्रतिशत आयकर खारेज गरिएको जानकारी दिँदै पानीका मुहान सुक्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बुटवलका प्रमुख इन्जिनियर अतुलेश कर्णले लुम्बिनी प्रदेशका ६ जिल्लामध्ये पश्चिम नवलपरासीमा आर्सेनिकको समस्या सबैभन्दा बढी रहेको जानकारी दिनुभयो।

यसैबीच, भेलाले गुप्तबहादुर केसीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा मञ्जु नयौपाने पाण्डे, महासचिवमा केशवकान्त न्यौपाने, सचिवमा शान्ति पोखरेल पौडेल र कोषाध्यक्षमा गोमा आचार्य चयन हुनुभएको छ। साथै अन्य सदस्यहरू पनि चयन गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button