तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प, बिरामीहरू मर्कामा

वीरगञ्ज । वीरगन्जको नारायणी अस्पतालमा गत शनिबार भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हड्ताल सोमबार पनि जारी रहेको छ । 

स्वास्थ्यकर्मीहरुले आज वीरगन्जको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कारबाही, र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । आइतबारदेखि नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन् । 

नेपाल चिकित्सक सङ्घको आह्वानमा वीरगन्जका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि यहाँका प्रायः सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । जसका कारण उपचारका लागि पुगेका सर्वसाधारण बिरामीहरू ठूलो मर्कामा परेका छन् ।

सोमबार नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साहले एक विज्ञप्ति जारी गर्दै सिसिटिभी फुटेजको आधारमा दोषीहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सासँग माग गर्नुभएको छ । 

कुटपिटबाट गम्भीर घाइते हुनुभएका डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

शनिबार वीरगन्ज–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँलेले आकस्मिक कक्षमा तोडफोड गर्दै डाक्टर राममाथि निर्घात कुटपिट गरेका थिए । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिए पनि उनको परिचय भने सार्वजनिक गरिएको छैन ।

यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आजै एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्किन अनुरोध गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई निर्भय र सुरक्षित वातावरणमा सेवा दिन अपिल गर्दै, स्थानीय प्रशासनलाई दोषीमाथि कारबाही गर्न र सर्वसाधारणलाई अस्पतालको संवेदनशीलता बुझिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button