तपाईँ सुन्दै हुनुहुन्छः

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । 

उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्नसक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।

विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्नसक्ने बताउनुभयो । “आज साँझसम्म कोशी नदीको जलसतह चार दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ । आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले छ मिटरको सतर्कता तह पार गर्न सक्छ”, उहाँले भन्नुभयो । 

विष्टका अनुसार नदीको जलसतह छ मिटर पुगेमा सतर्कता तह र सात मिटर पुगेमा खतरा तह पार गर्नेछ । नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । 

उहाँले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । 

विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button