स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्यकर्मीबाट सेवा भाव जरुरी : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वास्थ्य क्षेत्रमा सेवा दिने जनशक्तिको ज्ञान, सीप, इमानदारिता, करुणा र व्यावसायिकताले हजारौँ मानिसको जीवन रक्षा गर्न सक्ने बताउनुभएको छ ।
मुख्यमन्त्री यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र निक्कै संवेदनशील तथा जनताको जीवनसँग जोडिएका क्षेत्र भएकाले प्रतिष्ठानबाट उच्च शिक्षा हाँसिल गरेका स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रको सुधारमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री यादवले संघ सरकारले छात्रवृत्तिबापत प्रतिष्ठानलाई दिनुपर्ने रकम नदिए पनि प्रतिष्ठानले प्रदेश सरकारको बजेटबाट नै कार्यक्रम सञ्चालन गरिरहेको भन्नुहुँदै प्रतिष्ठानको भौतिक पूर्वाधारको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो ।
प्रतिष्ठानका कुलपति समेत रहनुभएका मुख्यमन्त्री यादवले अगामी दिनमा प्रतिष्ठानले शिक्षण, अनुसन्धान, नवप्रवत्र्तन तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट केन्द्रका रुपमा स्थापित गर्न प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा विद् एवं राजर्षि जनक विश्व विद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा.अमर प्रसाद यादवले स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता, डिजिटल स्वास्थ्य प्रणाली, अनुसन्धान र प्रमाणमा आधारित उपचार पद्धतिले चिकित्सा क्षेत्रलाई उचाइमा पुर्याउने काम गरेको बताउनुभयो ।
उहाँले दीक्षित विद्यार्थीहरूले आफ्नो दक्षतालाई निरन्तर वृद्धि गर्दै ईमान्दारिता, करुणा, नैतिकता र सेवा भावलाई जीवनको मूलमन्त्र बनाएर अगाडी बढ्नका लागि सुझाव दिनुभयो ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.अंकुर शाहले दीक्षित विद्यार्थीहरूले प्रतिष्ठानबाट सिकेका ज्ञान, सिप, नैतिकता र मानवीय संवेदनालाई आत्मसात गर्दै समाज र राष्ट्रको सेवामा समर्पित रहने विश्वास व्यक्त गर्नुभयो ।

२०७७ सालमा स्थापना भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातक तहतर्फ व्याचलर अफ नर्सिङ साइन्स, व्याचलर अफ साइन्स ईन नर्सिङ, व्याचलर अफ पब्लिक हेल्थ तथा स्नातकोत्तरतर्फ एम डि ईन गाईनो तर्फ शिक्षा हासिल गरेका ४३ जना विद्यार्थीहरूलाई मुख्यमन्त्रीले दीक्षित गर्नुभएको थियो ।
दीक्षान्त समारोहमा प्रतिष्ठानका उत्कृष्ट अङ्कसहित उत्तीर्ण भएका विद्यार्थीहरू जितेन्द्र कुमार साह, विवेक खडका, जेनिसा लामा, जोशिका शर्मा, मोहम्मद बद्रे आलमलाई उपकुलपति स्वर्ण पदकबाट सम्मानित गरिएको थियो ।
यसैगरी प्रतिष्ठान अन्तर्गत रहेको आयुषी तथा आनन्दकृष्ण राजभण्डारी स्वर्ण पदकबाट विद्यार्थी स्मृति ढकाल सम्मानित हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्