तपाईँ सुन्दै हुनुहुन्छः

झापामा रासायनिक मल अभाव, किसान चिन्तित

झापा । धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक मलको अभाव देखिएको छ । आवश्यक परिमाणको एक चौथाइभन्दा कम मात्र मल उपलब्ध भएको भन्दै किसानहरुले यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरेका छन् ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिकटन युरिया आवश्यक पर्नेमा हालसम्म करिब दुई हजार ४०० मेट्रिक टन मात्र आपूर्ति भएको छ । त्यसैगरी, करिब आठ हजार मेट्रिकटन डिएपी आवश्यक रहेकामा हालसम्म दुई हजार ५०० मेट्रिकटन मात्रै उपलब्ध भएको विष्टले बताउनुभयो ।

मल अभावकै कारण धेरै किसानले जैविक (अर्ग्यानिक) मल प्रयोग गरेर रोपाइँलाई निरन्तरता दिएका छन् । पछिल्ला वर्षहरूमा जैविक मलप्रति किसानको आकर्षण बढ्दै गए पनि यसको प्रभाव देखिन केही समय लाग्ने भएकाले तत्काल उत्पादनका लागि किसान अझै पनि रासायनिक मलमै बढी निर्भर छन् ।

गौरादह–५ का किसान राजेन्द्र अधिकारीले रोपाइँ सम्पन्न भए पनि मल अभावले उत्पादन घट्न सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

हालसम्म झापामा ६१.८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । किसानहरूले तत्काल पर्याप्त परिमाणमा रासायनिक मल आपूर्ति गर्न, वितरण प्रणालीलाई सहज बनाउन तथा वैकल्पिक मलको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button