तपाईँ सुन्दै हुनुहुन्छः

मधेशका दलित, मुस्लिम तथा जनजाति महिला बाख्रा पालनतर्फ आकर्षित

जनकपुरधाम । धनुषा तथा महोत्तरीका विभिन्न पालिकाका स्थानीय विपन्न, दलित महिलाहरू व्यवसायीक बाख्रा पालनतर्फ आकर्षित भएका छन् । 

थोरै लगानीमा अधिक प्रतिफल दिने भएकाले धनुषाको वटेश्वर, जनकनन्दनी, महोत्तरीको सम्सी तथा सोनमाका महिला किसान व्यावसायिक बाख्रापालनमा लागेपछि उनीहरूको जीवनमा परिवर्तन आउन थालेको छ । 

नेपाल सरकारले विश्व बैङ्क तथा विश्व कृषि खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा यहाँका पालिकाहरूमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आयोजना क्लष्टर इकाई मार्फत महिलाहरूको जीवनमा परिवर्तन ल्याउन तथा पोषण अवस्थामा सुधार गर्नका महिला समूहमार्फत बाख्रापालनमा केही सहयोग गरेपछि महिलाहरू बाख्रा पालनतर्फ आकर्षित भएका हुन

वटेश्वर गाउँपालिका वडा नंं २ सीतापुरका मनिता कुमारी सिंहले अहिले आफ्नै घरमा व्यवस्थित रुपमा बाख्राको खोर निर्माण गरेर बाख्रापालन गर्नुभएको छ । २०८२ सालदेखि बाख्रापालन गर्दै आउनुभएकी सिंहले १ वर्षमा १ लाख ६६ हजारको खसी बोका तथा पाठा पाठी बिक्री गर्नुभएको छ । 

बाख्राका खोर नै निर्माण गरेर बाख्रापालन गर्दै आउनुभएका सिंहले स्थानीय जातका बाख्राका साथै बोयर जातको बाख्र परियोजनाले अनुदानमा दिएपछि बाख्रा पाल्न थाल्नुभएको हो । बोयर जातको बाख्राको वृद्धि चाँडो दिने भने पनि मधेसको गर्मीको ठाउँमा उक्त जातको बाख्रा त्यति उपयुक्त नभएको भन्नुहुँदै उहाँले धेरै खाए पनि सो अनुसारको प्रतिफल नभएको बताउनुभयो । बाख्रा उत्पादनका लागि परियोजनाले बोयर जातको बाख्रा तथा बोकासहित घाँसको बीउ उपलब्ध गराएको सिंहले बताउनुभयो । 

परियोजनाले धनुषाको जनकनन्दनीमा १ र वटेश्वरमा ३ वटा समूहमार्फत बाख्रा प्रबद्र्धनको कार्यक्रम सञ्चालन गरेपछि धेरै महिलाहरू बाख्रा पालनबाट लाभ लिइरहनुभएको छ । अधिकांश बाख्रा पालन समूहमा जनजाति तथा दलित, मुस्लिम महिलाहरू लाग्नु भएको छ ।  महोत्तरीको सम्सीमा ९ र सोनमामा १४ वटा महिला समूह बाख्रा पालनमा लाग्नु भएको आयोजनाका क्लष्टर इकाई धनुषाका कार्यालय प्रमुख रविलाल शर्माले जानकारी दिनुभयो । 

यता मधेसको हावापानीमा बोयर जात बाख्रा त्यति उपयुक्त नभएको किसानको गुनासो पनि सुनिएको छ । यस विषयमा पशु विज्ञ एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.संजय कुमार यादवले बोयर जातको विकल्पमा जमुनापारी वा भारतीय नश्लका बाख्रा पालनका लागि प्रोत्साहन गर्दा बढी प्रतिफल दिने अवस्था भएकोले त्यसप्रति आयोजना गम्भीर हुनुपर्ने सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button